Saturday, July 24, 2021

डोटीमा शुरु भयो प्रसिद्ध जोरायले बासमती धानको रोपाइँ

डोटी । जुम्लाको मार्सिधान रोपाइँको चर्चासँगै यतिखेर सुदूरपश्चिम प्रदेशको प्रशिद्ध जोरायले बासमती धानको रोपाइँ पनि शुरु भएको छ । कोरोना सङ्क्रमणको महामारी केही घटेसँगै यहाँका किसानहरु अहिले उक्त धान रापाइँमा जुटेका छन् ।

यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा मात्रै उत्पादन हुने उक्त धान विशेषगरी देशव्यापी रुपमा नै लोकप्रिय छ । भात पकाउँदा निकै मिठो वास्ना आउने तथा अरु विभिन्न परिकार पनि बनाउन मिल्ने भएकाले उक्त धानको चामल निकै लोकप्रिय छ ।

तर स्थानीयहरुले यस प्रदेशभन्दा बाहिर पनि यसको चर्चा पुर्याउन र उचित संरक्षण र विस्तारका लागि भने आग्रह गरेका छन् । पछिल्ला वर्षहरुमा भने जुम्लाको कालीमार्सिको चर्चाले गर्दा जोरायले बासमतीको लोकप्रियता पनि सुदूरपश्चिमभन्दा बाहिर निस्किएको पाइएको छ । यस वर्ष भने जोरायले बासमती चामल यो वर्षको असार पाँच गतेदेखि नै रोप्न आरम्भ भएको स्थानीयवासीहरु बताउछन् ।

यो धान धेरै गर्मीमा भन्दा पनि कम नै तापक्रममा हुने तथा समथल ठाउँमा मात्रै उत्पादन हुने गर्दछ । उक्त धान यहाँको जोरायल गाउँपालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँमा लगाउने गरिएको स्थानीयवासी चित्रराज भट्टले बताए ।

उनले भने, “सुदूरपश्चिम प्रदेशमा प्रशिद्ध जोरायले बासमती धान लोप हुने अवस्थामा थियो, अहिले बिभिन्न संघसंस्था तथा स्थानीय सरकारको पहलमामा संरक्षण गरिएको छ, रापाइँ गर्न शुरु भएको छ, राम्रो उत्पादन हुने छ ।”

यहाँ उत्पादन हुने बासमती चामल नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न शहरमा पनि बिक्रीका लागि पठाउने गरिएको छ । यसको मूल्य प्रति केजी रु १२० पर्ने गरेको व्यापारीहरु बताउछन् ।

जोरायले बासमती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिममा उक्त धानको निकै माग हुने गरेको अर्का स्थानीय विजयप्रकाश मल्लले जानकारी दिए । जोरायले बासमती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु अघि सारेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताए ।

उनले भने, “सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायले बासमती संरक्षका लागि हामीले पालिकाको बजेटमार्फत् विभिन्न कार्यक्रम पनि अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्ने छौँ ।”

मनसुन शुरु भएसँगै यहाँका सिँचाइ सुविधा पुगेका ठाउँमा उक्त धान रोपाइँ शुरु भएको हो । खोला किनारमा रहेका फाँटहरुमा जोरायले बासमती धान रोपाइँ गर्न थालिएको जोरायल गाउँपालिका–४ का किसान टेकबहादुर मडैले बताए । उनले भन्ने, “यो वर्ष समयमै वर्षात् भएको छ, अहिले हामी बासमती धान रोप्न थालेका छौँ, रोपी सकेपछि पनि यो धानलाई पानी बढी चाहिने भएकाले यो वर्षको मौसम राम्रो भएको हुँदा धान उत्पादन बढ्ने छ ।”

यहाँका कम्तिमा पनि आठ सय हेक्टर जमिनमा उक्त जोरायले बासमती धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रसिलगढी डोटीले जनाएको छ । प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले यो वर्ष मनसुन चाँडै भित्रिएकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताए ।

उनले भने, “सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात भएको छ, किसानलाई बासमती धानरोप्न चटारो भएको छ ।”

अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेको भए पनि चालू आर्थिक वर्षमा धान उत्पादन बढेको थियो । मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकको अनुमान रहेको छ ।

जोरायले बासमतीसँगै यहाँका किसानले मार्सि, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान समेत लगाउदै आएका छन् । सुदूरपश्चिम प्रदेशमा बासमती धानको उत्पत्ति सम्बन्धी फरक–फरक विचार रहे पनि हिमालयको दक्षिणी भागमध्ये नेपाल पनि एसियन धानको उत्पत्ति भएको एक स्थान भएको मानिन्छ । नेपालमा कम्तीमा चार वटा जङ्गली प्रजातिका धान र रैथाने जात पनि प्रचुर मात्रामा पाइने गरेको बताइएको छ ।

वैदिक कालदेखि नै सुदूरपश्चिमको जोरयालमा मात्रै उक्त जोरायले बासमती धानको खेती गर्न थालिएको धान बालीसम्बन्धी जानकारहरू बताउछन् । उनीहरुका अनुसार बासमती धानलाई एक किसिमको असल बासनादार जातको धान वा त्यसैको चामल भन्ने बुझिन्छ ।

नेपालमा पाइने विभिन्न किसिमका बासमती धानभन्दा फरक खालको यो धान भएकाले यसलाई निकै महत्वका साथ हेरिने गरेको जोरायल गाउँपालिका–२ का स्थानीयवासी तथा नेपाली संविधान सभाका पूर्व सदस्य यज्ञराज पाठकले बताए ।

उनले भने, “नेपालमा थुप्रै किसिमका बासमती धान छन्, तर जोरायल क्षेत्रमा मात्रै उत्पादन हुने बासमती धानको आफ्नै महत्व छ, यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने भएकाले पनि यसको महत्व अधिक छ, यसको संरक्षण गर्नु जरुरी भएको छ ।”

नेपालको विभिन्न स्थान, तराइ र केही पहाडी भूभागमा अझै पनि स्थानीय जातका बासमती धान लगाइने चलन रहेको जोरायलका अर्का स्थानीय हेमप्रकाश मल्लले बताए । बासमती धान ढिलो पाक्ने, कम फल्ने र राष्ट्रिय उत्पादनमा खासै योगदान नगर्ने हुँदा जति चर्चा हुनुपर्ने हो, त्यति नभएको उनको भनाइ छ ।

बासमती धान व्यापारी प्रयोजनका लागि नभइ यहाँका अधिकांश किसानले आफै खानकै लागि मात्रै खेती गर्ने चलन बढी भएका कारण यो धानको खासै चर्चा हुन नसकेको जोरायल गाउँपालिका–५ की स्थानीय तुलशी शाहीले बताउनुभयो । उनले भने, “जोरायले बासमती धान व्यापारी प्रयोजनका लागि नलगाइ आफ्नै लागि लगाउने चलन बढी छ, बिक्री बितरण कमै गरिने भएकाले पनि यसको चर्चा र प्रचार हुन सकेको छैन ।”

जुम्लामा मार्सि, बारा, सुनसरी, झापा लगायत पूर्वी तराइ क्षेत्रमा लल्का बासमती, पोखरामा जेठो बुढो, कपिलवस्तु क्षेत्रमा काला–नमक, दाङ क्षेत्रमा तिल्की तथा डोटीको जोरायल क्षेत्रमा फल्ने जोरायले बासमती नेपालका प्रचलित धान भएको सुदूरपश्चिम कृषि निर्देशनलाय दिपायल राजपुरको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसबाहेक बारामा अनदी बासमती, झापा, मोरङ र सुनसरीमा छोटी, कनक जिरा, जोरपाल र कालो टुन्डे, बासमती, सुनसरीमै गोला, झापा लगायत केही पूर्वी जिल्लामा कालो बासमती, डडेल्धुरामा डाँडा बासमती, दोलखामा आँपझुत्ते बासमती धान चलन चल्तीमा रहेको निर्देशनालयले जनाएको छ ।

नेपालमा रैथाने बासमती के कति छन्, कुन कुन ठाउँमा छन् भन्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको राष्ट्रिय जीन बैंकको तथ्याङ्कबाट पनि प्रष्ट हुन्छ । जिन बैंकमा बाजुरा, मुस्ताङ, धादिङ, ललितपुर, डडेल्धुरा, बैतडी, नुवाकोट, बझाङ, रामेछाप, जुम्ला तथा डोटीलगायत जिल्लाका किसानबाट सङ्कलन गरिएका मसिनो, डाँडा, झिनुवा, हंसराज, कालो बासमती लगायत नाम गरेका धानका जातहरू सबै र सधैंका लागि संरक्षण गरिएको छ ।

नेपालको स्थानीय बासमती जातका धानलाई अन्तर्राष्ट्रिय रूपमा धानको अनुसन्धान गर्ने संस्था–इरी लगायत संसारका थुप्रै जीन बैंकमा सन् १९७० र १९८० दशकतिरै नेपाललाई आवश्यक पर्दा पाउने गरी सङ्कलन र संरक्षण गरी राखिएको बिभिन्न कृषि किताबहरुमा उल्लेख गरिएको पाइन्छ ।

बासमती आँपझुत्ते, असामिया, गोल,लामो, मसिनो, नोखी, पहाडे, रातो, उजर्का, सेतो, डाँडा, कालो, मसिनो, रातो, सेते÷सेतो बासमती यसैका उदाहरण भएको बताइएको छ । यी धानहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जीन बैंकमा नेपालको रैथाने ‘बासमती’ धानका नामबाटै संरक्षण भएर रहेकाले नेपालले बासमती नाममाथि अन्तर्राष्ट्रिय समुदायमा आफ्नो पनि अधिकार दाबी गर्ने बलियो प्रमाण भएको कृषि तथा वालिनाली सम्बन्धिका बिज्ञहरु बताउँछन् ।

पछिल्लो समय जोरायल क्षेत्रमा मात्रै उत्पादन हुने बासमती धान लोप हुने खतरा बढेकाले त्यसको संरक्षणका लागि सबै तह र तप्काबाट लाग्नुपर्ने यहाँका किसानहरुको माग रहेको छ । जोरायले बासमती संरक्षणका लागि स्थानीय स्तरबाट पहल भएपनि यस प्रयासले खासै ठोस रुप लिन सकेको छैन । ढिलो पाक्ने भएकाले र यसको व्यापारिक केन्द्र नतोकिएका कारण पनि किसानहरु यो धान लगाउन नमान्ने गरेको जोरायल गाउँपालिका–४ की अर्की स्थानीय महिला लक्ष्मी आलीले जानकारी दिए ।

उनका अनुसार यो धान अन्य धानभन्दा कम्तिमा पनि एक महिना ढिलो पाक्ने गरेका कारण पनि समस्या हुँदै आएको छ । उनले भने, “अन्य धान छिटो पाक्छ र समयमै किसानले भित्र्याउछन्, यो ढिलो पाक्ने भएकाले खेर जाने डरले किसानले लगाउन मान्दैनन्, वर्षेनी धान लगाउन बढ्नुको साटो घट्दै जान थालेको छ ।” तर किसानहरुले यो धान ढिला पाक्ने भएकोले झन्झटका रुपमा लिने गरेको भए पनि यसको माग भने दिन प्रतिदिन बढ्दै छ ।

जसरी काठमाडौंमा नै केही वर्ष यता कालीमार्सि धानको चर्चा शुरु भयो र माग बढ्यो, त्यसैगरी सुदूरपश्चिम क्षेत्रमा पनि जोरायले बासमतीको माग बढ्दै गएको पाइएको छ । –विमलबहादुर विष्ट

Leave a Reply

ताजा खबर

यो पनि पढौं