Sunday, August 1, 2021

१५ लाख हेक्टरमा धान तर आत्मनिर्भर कहिले ?

विज्ञ भन्छन्, ‘मापदण्ड अनुरुप बीउ प्रतिस्थपना गरे मात्रै पनि १५ देखि २० प्रतिशत उत्पादन बढ्छ चैते धानले वर्षेको तुलनामा २५ प्रतिशतसम्म बढी उत्पादन दिन्छ’

काठमाडौं– अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान दिँदै आएको धानले कृषिको कुल गार्हस्थ्य उत्पादनमा धानको २१ प्रतिशत योगदान दिँदै आएको छ ।

त्यस्तै नेपालमा धानका आफ्नै विशेषता छन्। यहाँ संसारकै सबैभन्दा होचो मानिने भू–भाग (समुद्री सतहको ६० मिटर) कचनकवलदेखि तीन हजार ५० मिटरसम्म उचाइको जुम्लाको छुमचौरसम्म धानखेती गरिन्छ।

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा धानको उत्पादकत्वमा वृद्धि हुँदै गएको छ तर उत्पादन गर्ने क्षेत्रफलमा उल्लेखनीय परिवर्तन छैन । तथ्यांक अनुसार ५ वर्ष अगाडि आर्थिक वर्ष २०७३/०७४ मा १५ लाख ५२ हजार हेक्टरमा धान खेती गरिएकोमा त्यस यताका वर्षमा १५ लाख हेक्टर समेत छुन सकेको छैन ।

उत्पादन र उत्पादकत्वमा सुधार

गएको पाँच वर्षको तथ्यांकलाई हेर्दा धानको उत्पादन र उत्पादकत्वमा सुधार देखिन्छ तथापी उत्पादनको क्षेत्रफलको अवस्था कमजोर छ ।

धानमा आत्मनिर्भरताको यात्रा नै कठिन


भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४० करोड रुपैयाँको पाँच लाख १६ हजार टन चामल आयात भएको तथ्यांक छ । सो अवधिमा १७ अर्ब ४२ करोड २७ लाख रुपैयाँको ६ लाख १९ हजार टन धान आयात भएको छ । यो अवधिमा दुई अर्ब ५६ करोड रुपैयाँको ८७ हजार ५ सय ६२ टन कनिका आयात भएको छ ।

विगत ३० वर्षको उत्पादन र जनसंख्याको अनुपातलाई हेरेर र आगामी संभावनालाई समेत मुल्यांकन गर्दै गरिएको भविष्यमा माग पुरा गर्न चामल उत्पादन हुन सक्छ? विषय अनुसन्धानले अहिलेकै अवस्थाले सन् २०५० सम्ममा पनि त्यो लक्ष्य पुग्न कठिन देखाएको हो ।

उनका अनुसार यहि अवस्थाले सनु २०५० सम्ममा ८८ प्रतिशतमात्र आत्मनिर्भर बन्न सक्ने अवस्था छ । जुन अहिले ८३ प्रतिशत छ ।

यसै अनुसन्धानका एक सदस्य डा. देबेन्द्र गौचनले नेपालमा अहिले वार्षिक ७ लाख मेट्रिकटन चामल आयत हुने गरेको र जुन मागको १७ प्रतिशत भएको बताउँछन् । उनी बजेटले ५ वर्षमा चामलमा आत्मनिर्भर हुने नीत रहेको र अहिलेको उत्पादन अवस्था हाइब्रिड उत्पादन गरे अथवा जनसंख्या नबढेको अवस्थामा वार्षिक ५ प्रतिशतले चामलको उत्पादन बढे पनि आत्मनिर्भर हुन नसकिने उनले बताउँछन् ।

कसरी बढाउने धान उत्पादन

बीउलाई नै व्यवस्थित गरे मात्रै पनि १५ देखि २० प्रतिशत उत्पादन बढाउन सकिने विज्ञ बताउँछन्। कृषिविज्ञ भोलामान सिंह बस्नेतका अनुसार, धान उत्पादनमा १० प्रतिशत उत्पादन बढाउँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत बढ्छ।

विज्ञहरू हरेक ४ देखि ६ वर्षमा बीउको साटफेर गर्नुपर्ने बताउँछन्। अझैसम्म किसानले चार दशक अघिदेखि अनुसन्धान भएका बीउ नै प्रयोग गरिरहेका छन्।

यसले उत्पादन र गुणस्तरमा फरक पर्ने विज्ञको भनाइ छ। प्रसाईं भन्छन्, ‘किसानले प्रत्येक वर्ष बीउ साट्नुपर्छ। नभए बीउको छनोट, भण्डारण तथा ब्याड राख्दा त्यसको उपचार गर्नुपर्छ।’

कृषिविज्ञ बस्नेत किसानले बीउ परिवर्तन गर्न नसक्नुमा नयाँ जात किसानको रोजाइमा पर्न नसक्नु पनि कारण देख्छन्। ‘पुरानो जातको बीउले जुन स्वाद दिएको हुन्छ, नयाँले त्यो दिन नसक्दा पनि बीउ साट्दैनन्,’ उनी भन्छन्, ‘त्यसका लागि कम्तीमा किसान र उपभोक्ताको रुचिलाई बुझ्नुपर्छ।’

नेपालमा १९८१ सालदेखि धानको बीउमा परीक्षण हुँदै आएको पाइन्छ। तत्कालीन समयमा सिंहदरबारमा रहेको पुतली बगैंचामा धान अनुसन्धानको काम गरिँदै आएको थियो, जहाँ नेपालमा पहिलोपटक टाइचु—१७६ अनुसन्धानपछि सिफारिस भएको थियो। २००४ सालमा व्यवस्थित रूपले सर्लाहीको परवानीपुरमा पहिलोपटक अनुसन्धान फार्म खुलेको इतिहास छ।

कृषिविज्ञ बस्नेत नार्कले अनुसन्धान गर्दै आएको भए पनि सरकारका अन्य निकायले आफ्नो भूमिका निभाउन कन्जुसाइँ गर्दा किसानलाई बीउका बारेका जानकारी नै नहुने अवस्था रहेको बताउँछन्। उनी भन्छन्, ‘१२–१५ वर्ष लगाएर बीउको परीक्षण हुन्छ, तर प्रचार–प्रचार गर्नेले गर्दैनन्, जसले जन्मायो त्यसलाई माया हुन्छ भनिन्छ, यसको प्रचार–प्रसारको जिम्मा पनि अनुसन्धान गर्ने संस्थालाई नै दिनुपर्ने हुन्छ।’

कसरी बन्न सकिन्छ धानमा आत्मनिर्भर ?

उपभोग घटाउने


धानवाली विज्ञ बस्नेत सरकारले धान उत्पादन बढाउन गरेका प्रयासको कार्यान्वयन फितलो भएको बताउँछन् ।

‘यस अघि नै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले तीन वर्षका धानमा आत्मनिर्भर बन्ने नीति लिएको थियो तर त्यो यत्तिकै सेलायो, अहिले सरकारले फेरि पाँच वर्षे योजना अघि सारेको छ’ उनले भने, ‘धानमा आत्मनिर्भर बन्न सक्दो उत्पादन बढाउने र उपभोग घटाउन तर्फ ध्यान दिनुपर्छ ।’

उनले पछिल्लो समय नेपालीको उपभोग व्यवहार बदलिएर भाते सँस्कृतिको विकास भएको कारण माग पनि बढ्दै गएको बताउँछन् । ‘अहिले सडक संजाल दुर्गम क्षेत्रसम्ममा पुग्यो, ग्रामिण भेकमा पाइने चिनो,कागुनो, कोदो खाने र उत्पादन गर्नेको संख्या घटेर गयो’ उनी भन्छन्, ‘त्यसमाथि चामल तथा कनिकाको प्रयोग गरेर मदिराजन्य पदार्थको उत्पादन समेत गर्ने प्रचलन बढ्दै जाँदा चामल आयात बढ्दै गएकोछ ।’

उत्पादकत्व बढाउने


कृषि विज्ञ बस्नेत तत्काललाई उत्पादन क्षेत्र बढाउन नसके पनि उत्पादकत्व बढाउन सक्ने संभावना रहेको बताउँछन् । अहिले प्रति हेक्टर ३.८ मेट्रिक टन धान उत्पादन भएकोमा यसलाई विभिन्न क्षेत्रमा सुधार गर्न सके बढाउन सकिने उनको तर्क छ ।

‘उपत्यकका भक्तपुर लगायतका क्षेत्रमा अहिले पनि प्रति हेक्टर ६ टनसम्म धान उत्पादन हुँदै आएको छ, मल, बीउ, सिंचाई, प्रविधिको कुरालाई मिलाएर जान सके उत्पादन बढाउनको लागि समस्या छैन’ उनले भने, ‘अर्को महत्वपूर्ण कुरा धान खेतीमा कसैले पनि विज्ञको राय दिन जरुरी ठानेन्, यसको लागि पढेको मात्र भन्दा पनि पढेर, परेर, गरेर खारिएको विज्ञको राय लिनु आवश्यक छ ।’

उनले धानको लागि मात्र ४ लाख टन मल आवश्यक पर्ने भएपनि सरकारले सबे गरेर ४ लाख टन मल आयात गर्दै आएको बताए ।

चैते धान आत्मनिर्भरताको अचुक उपाय

सरकारले पछिल्लो समय चैते धानको विस्तार गर्ने नीति लिएको बताउँदै आएको छ। विज्ञहरू मुलुकलाई आवश्यक पर्ने खाद्यान्नको अभाव टार्न चैते धान वरदान हुने बताउँदै आएका छन्। कृषिविज्ञ बस्नेत चैते धान अन्य धानको तुलनामा २० देखि २५ प्रतिशतसम्म उत्पादन बढी दिने बताउँछन्।

उनका अनुसार, चैते धान अहिले डेढ लाख हेक्टरमा हुँदै आएको छ। मधेस र भित्री मधेसमा सजिलै चैते धानको उत्पादन हुन्छ। सरकारले सिँचाइको व्यवस्थापनमा ध्यान दिन सके ७० प्रतिशत खेती हुने भू–भागमा चैतेधान उत्पादन हुन्छ। चैतेधान मलको उपयोगिताका हिसाबले र रोग समेत कम लाग्ने भएकाले पनि उपयुक्त रहेको उनको भनाइ छ।

‘चैते धान फूल फुले पछि ६ सय क्यालोरी हुन्छ, वर्षे जम्मा ५ सय क्यालोरी हुन्छ जसले गर्दा चैते धान २० देखि २५ प्रतिशत उत्पादन बढी हुने देखिन्छ तर ८ देखि १० लाख हेक्टरमा सजिलै चैते धान रोप्न सकिनेमा त्यस तर्फ पहल भएन’ उनले भने, ‘चैते धानले एकातिर उत्पादन बढी भएपछि कुल उत्पादनमा बढाउँछ, अर्को तिर असारमा चैते ध्यान स्याहारेर वर्षे धान पनि रोप्न सकिन्छ ।’

उनले चैते धानको लागि पर्याप्त सिंचाई, मल, बीउ र धान सुकाउने मेसिन (ड्रायर मेसिन) उपलब्ध गराएर सहजिकरण गर्न सकिने बताउँछन् । उनले भने, ‘केही पाउनको लागि केही योगदान त गर्नै पर्यो, आत्मनिर्भर पनि बन्ने भन्ने, सरकारी प्रयास पनि नभए त कसरी उत्पादन बढाउन सकिन्छ ? हामीले ३५ वर्ष अगाडि नार्कमा चैते धानको परिक्षण गरेर सरकारलाई सुझाव दिएका हौं तर अहिलेसम्म पनि यस विषयलाई गम्भिरताका साथ लिने काम भएन ।’

बीउ साट्दैनन् किसान

अहिले ९६ प्रतिशत किसानले उन्नत जातको धानको बीउ प्रयोग गर्दै आएका छन्। तर, बीउ साटफेरको दर साह्रै न्यून छ।

बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनु प्रसाद प्रसाईं अहिलेको बीउ प्रतिस्थापन दर २०.२२ प्रतिशत रहेको बताउँछन् । यो दर बढाएर सन् २०२५ सम्मा २५ प्रतिशत पुराउने सरकारी लक्ष्य रहेको उनको भनाइ छ ।

सामान्यतः प्रतिहेक्टरमा ५० किलो धानको बीउ आवश्यक पर्छ । ‘१५ लाख हेक्टर धानबालीका लागि ७० देखि ७५ हजार टन बीउ आवश्यक पर्छ। किसानले बढीमा १५ हजार मेट्रिक टन मात्र नयाँ उन्नत जातको बीउ खरिद गर्छन् । उनी २५ प्रतिशत वीउ प्रतिस्थापन हुन सके त्यसले पूर्ण रुपमा वीउ प्रतिस्थापनमा सहयोग प्ग्ने बताउँछन् ।

‘सामान्यतया हरेका चार वर्षमा वीउ प्रतिस्थापन गर्नुपर्छ, त्यसकै आधारमा २५ प्रतिस्थान भएमात्रै पनि यसले पूर्णतामा सघाउ पुराउँछ भन्ने मान्यता हो । पहिलो वर्ष वीउ प्रतिस्थापन गरेका किसानले बाँकी तीन वर्ष त्यही वीउको धानबाट वीउ संचय गर्छन्’ उनी भन्छन् । उनले अहिले केन्द्रको निगरानीमा १२ देखि १५ हजार टन वीउ वार्षिक रुपमा उत्पादन हुँदै आएको बताए । उनका अनुसार केन्द्रको सम्पर्कमा नआएका केही क्षेत्रमा पनि वीउ उत्पादन हुन सक्ने उनको भनाइ छ ।

कृषि अनुसन्धान केन्द्र (नार्क) धानवाली अनुसन्धान कार्यक्रमका प्रमुख भानु पोखरेल उत्पादन बढाउनको लागि वीउको छनौटले मात्रै पनि धेरै उत्पादन बढाउन सकिने बताउँछन् ।

उनका अनुसार नार्कले अहिले हर्दिनाथ–१ र ३ हाइव्रिड बीउको उत्पादन गरेको छ । जुन चैते र वर्षे दुबैको लागि उपयुक्त छ । हाइव्रिडले मात्रै पनि हुँदैन । सामान्यतया ४० प्रतिशतसम्म मात्र हाइव्रिडको प्र्रयोग गर्नुपर्ने मान्यता छ । उनले भने, ‘उन्नत जातका छिटो पाक्ने राम्रो खालका ३–४ जातका धान रिलिज गर्ने योजनामा थियौं तर लकडाउनले त्यो संभव भएन ।’

पहाडका मान्छे सबै धान खेती हुने नदी किनारमा आएर बस्ने, तराईमा आएर बस्ने, घडेरीका लागि खेती योग्य जमिन खण्डिकरण भएको हुँदा प्रमुख पोखरेल धान लगाउने क्षेत्र बढ्नेमा शंका रहेको बताउँछन् ।

‘चैते धाननै उपयुक्त विकल्प हो । हामीले दुई वर्ष भित्रमा ८ देखि १० जातका वर्षे र चैते धानलाई उपयुक्त हुने बीउ ल्याउँदै छौं । वीउ उत्पादनमा जोड नदिएको अवस्थामा हामीले नयाँ जात निकाले पनि किसानको खेतबारीमा जाने, ‘हरेक पालिकामा वीउ उत्पादन कार्यक्रम ल्याउन सके किसानको वीउमा सहज पहुँच पुग्छ, हामी त्यसरी नै अगाडि बढेका छौं । त्यही माटो, मल र सिंचाईका वीउ मात्रै फेर्न सके पनि १५ देखि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ ।’

उत्पादन लागत पनि बढ्दै गएकोले यान्त्रिकरणमा जोड दिनसके लागत घटाउन सकिने उनको भनाइ छ । उनले भने, ‘सरकारको नीति राम्रो छ तर त्यसको कार्यान्वयन भएर किसानसम्म पुग्न सकेको अवस्था छैन ।’

१० देखि १५ प्रतिशत वर्णसंकर (हाइब्रिड)

फरक–फरक जातलाई क्रसिङ गरेर बनाइएको धानको जात (जसबाट उत्पादन बढी हुन्छ) लाई उन्नत मानिन्छ, जसलाई किसानले उत्पादन गरी बिउको रूपमा पुनः प्रयोग गर्न सक्छन्। वर्णसंकर (हाइब्रिड) पनि क्रसिङ नै हो। तर, यसलाई किसानले पुनः बिउको रूपमा प्रयोग गर्न सक्दैनन्।

हामीकहाँ कतै चार दशकदेखि एउटै बीउ छ भने कतै उत्पादन बढाउने नाममा १० देखि १५ प्रतिशत वर्णसंकर (हाइब्रिड) बीउको प्रयोग भएको देखिन्छ। चालू आर्थिक वर्षदेखि नार्कले हर्दिनाथ–१ र ३ वर्णसंकर धानको बीउ ल्याएको भए पनि त्यसको बजार विस्तार भएको छैन। बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार एक सय टन हाइब्रिड धानको बीउ आयात भएको छ ।

अहिले पनि हाइब्रिड बीउ प्रति नकारात्मक धारणा बनेको पाइन्छ । कृषिविज्ञ बस्नेत वर्णसंकरप्रति नकारात्मक बन्नुभन्दा पनि त्यसकोे प्रयोग गर्दा मल, जलको मात्रामा विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउँछन्। उनी भन्छन्, ‘वर्णसंकर बीउले प्रतिहेक्टर २० टन उत्पादन गर्न थाले। तर, हामी अझै ३.८ टन मात्र उत्पादन गरेका छौं। मल, जल र प्रविधिको सही प्रयोग गरे यसले गलत असर गर्ने भन्ने हुँदैन।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं