Wednesday, August 4, 2021

कोरोना संक्रमण : भारतमा भन्दा नेपालमा बढी !

काठमाडौं–कोरोनाको दोस्रो लहर आएसँगै भारतमा कोरोना संक्रमणको अवस्था भयावह भयो ।

कोरोनाको संक्रमणको कारण ज्यान गुमाउनेहरूको लास व्यवस्थापन समेत गर्न नपाएका खबर आए ।

बिरामीले अस्पताल खचाखच भरिए शव उठाउन शव बहान समेत पाउन नसक्ने अवस्था आयो ।

आङ जिरिङ्ग गराउने भारतका ती त्रासदी सहितका दृष्यमा हराएका हामी हाम्रै देशको अवस्थामा भने कमै चासो देखायौं । तथ्यांकालाई हेर्दा भारत भन्दा नेपालमा संक्रमणको प्रभाव पाइएको छ ।

अहिले भारत नेपाल सबै तिर ओरालो लागेको कोरोना प्रभाव हेर्दा भारत भन्दा नेपाल अहिले पनि धेरै सूचकमा अगाडि नै छ ।

हेरौं केही सूचकका आधारमा भारत र नेपालमा देखिएको संक्रमणको अवस्था चित्रण :

मृत्युदर नेपालमा बढी

यो सामाग्री तयार पार्दासम्म भारतमा संक्रमितको संख्या तीन करोड दुई लाख ७८ हजार नौ सय ६३ छ ।

यो संख्यामा मृत्यु हुनेको संख्या तीन लाख ९६ हजार सात सय ६१ छ । जुन संक्रमितको १ दशमलव ३ प्रतिशत हो ।

आइतबारको तथ्याङ्क हेर्दा नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७ सय ७७ पुगेको छ ।

नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । जुन १ दशमलव ३५ प्रतिशत भन्दा बढी हो ।


निको हुने दर पनि नेपालमा भन्दा भारतमा बढी

कोरोना संक्रमणबाट निको हुने दर नेपालमा भन्दा भारतमा बढी छ । भारतमा हालसम्म दुई करोड ९३ लाख दुई हजार दुई सय ६० अर्थात करिब ९७ प्रतिशत संक्रमित निको भएकाछन् ।

तर नेपालमा हालसम्म निको भएको बिरामीको संख्या पाँच लाख ८४ हजार तीन सय ३४ छ ।

जुन भारतको दर भन्दा झण्डै १० प्रतिशत कम अर्थात कुल संक्रमितको ८७ प्रतिशत मात्र हो ।

कोरोना परिक्षण दर भारत भन्दा नेपालमा आधा भन्दा कम

भारतमा प्रति दशलाखमा २१ हजार ७ सय ३१ जना संक्रमित भएकाछन् ।

त्यसको तुलनामा नेपालमा केही कम अर्थात २१ हजार ३ सय ७० जना प्रति १० लाखमा संक्रमित छन्। तर नेपालमा कोरोना भाइरस परिक्षणदर भारतमा भन्दा निकै कम जाँच भएको छ ।

नेपालमा प्रति १० लाखमा १ लाख १२ हजार ६६ रहेको छ भने भारतमा त्यही दर दुई लाख ९० हजार १ सय ३२ जना छन् ।

खोपमा उस्तै कमजोर नेपाल

भारतमा अहिलेसम्म ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो डोज लगाएका छन् , जुन जनसंख्याको २५ प्रतिशत हो ।

यद्यपी पाँच करोड ४० लाख मानिसले मात्र कोरोनाको पूरा डोज खोप पाएका छन् । जुन जनसंख्याको ४ दशमलव १५ प्रतिशत हो ।

नेपालमा कोरोना भाइरस विरूद्धको खोप लगाउनेको संख्या निकै कम छ ।

हालसम्म नेपालमा कोरोना भाइरस बिरुद्धको पहिलो मात्राको खोप लगाउनेहरुको संख्या २५ लाख ८३ हजार ७ सय ९० रहेको छ ।

जुन जनसंख्याका पुगनपुग ९ प्रतिशत हो ।

दोस्रो मात्रामा ७ लाख ५० जार एक सय ३१ जनाले लगाएका छन् । जुन जनसंख्याको २ दशमलव ५ प्रतिशत मात्र हो ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं