Saturday, July 24, 2021

रामपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यशाला गोष्ठी


पाल्पा–लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्बन्धी कार्यशाला गोष्ठी पाल्पाको रामपुरमा भएको छ ।

रामपुर नगरपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगन्ज बाँकेको सहयोगमा गोष्ठी भएको हो । नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका महिला कर्मचारी, महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

गोष्ठीको सहजिकरण जेसी अडिटर प्रेम बगाले र जेसी सहजकर्ता हिरामणी पराजुलीले गरेका थिए । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरणमा स्थानीय सरकारको भुमिका, समावेशिकरण लगायतका सन्दर्भमा छलफल भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा नगरपालिका उपप्रमुख आचार्यले पहिलेको तुलनामा रामपुरमा लैङ्गिक विभेद कम हुदै गएको र पछिल्लो समय न्यायिक समितिमा पुरुष हिंसाका घटनाका उजुरी आउने क्रम बढेको बताउँदै नगरको वडा नं ७ र ८ वडाबाट बढी पुरुष हिंसाका घटना आउने गरेको बताए ।

उनले पितृसतात्मक सोचका कारणले महिला र पुरुषबीचको विभेद अझै पनि कायम रहेको बताए ।

राज्यले आरक्षण कोटा छुट्टयाएकाले महिलाले विभिन्न क्षेत्रमा सहभागी हुने अवसर पाएको गोष्ठीमा सहभागीले बताएका छन् । महिलाका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले सबै क्षेत्रका महिलाका लागि समावेश गराइएको महिला, बालबालिका तथा सामाजिक विकास शाखाका सहायक महिला निरिक्षक सिर्जना रेग्मीले जानकारी दिइन्।

महिला निरिक्षक पुजा परियारले संचालन गर्नुभएको कार्यक्रममा सहभागीलाई स्वागत कार्यपालिका सदस्य सिमादेवी रानाले गरेकी थिइन् ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगन्ज बाँकेले पाल्पाका दश स्थानीय तहमध्ये रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र रिब्दिकोट गाउँपालिकालाई छनौट गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्बन्धी कार्यशाला गोष्ठी गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं