जातीय विभेदको लडाई दलित र गैर दलितको होइन

सबैले आ–आफ्नो घरमा क्रान्ती गर्न पहल गरौं, फेसबुकमा राम्रो लेखेर भएन व्यवहारमा आफ्नो घर घरमा विभेदका लागि आवाज उठाऔं ।
–सीए आनन्दराज शर्मा वाग्ले

हामीले जनता र राजालाई दमन गर्ने राणा शासन विरुद्ध लड्यौं, राजा स्थापना गर्यौं, राजाबाट पनि जनताहरू दमन भए जनताहरू स्वतन्त्र र जनताले नै जनतालाई नेतृत्व लिने बहुदलीय व्यवस्था स्थापना गर्यौं । लड्यौं, घाइते भयांै, कति सहीद भए। जनताको हितको लागि हामी भन्दा उपल्लो पीढीका आदरणीय अग्रज नेताहरू लड्नुभयो। आज त्यो बलिदान र त्यागले जनताहरू फेसबूकमा वा सडकमा स्वतन्त्र रूपमा खुलेर आफ्ना अभिव्यक्ति राख्न पाएका छौं ।

आज सरकार ढलाउन जनताको दवाव काफी छ। नेता होइन जनता जनार्दन छन््। जनतालाई नै सर्वोच्च बनाइएको छ, यद्द्पी जनताबीच पनि वर्गीय भिन्नता छ जातीय विभेद छ लैङ्गिक विभेद छ । साँस्कृतिक र सामाजिक विभेद छ। हामी आर्को चरणको संघर्षमा त्यो विभेद उन्मुलन गर्न उन्मुख छौं भन्दा अतियुक्ति पक्कै नहोला ।

प्राय ः सबै राजनैतिक दलहरूले जातजातिबीचको अत्याचार र दमन विरुद्ध आवाज उठाए पनि पहिलो पटक बीपी कोइरालाले समावेशी गर्नुपर्छ भनेर चुनावमा प्रतिनिधित्व गर्ने नेताहरूमा महिला, जनजाति, दलितलाई समेत समेटेको पाइन्छ। उहाँ जस्तो दुरदर्शी नेताले चालेको त्यो व्यवहार तत्कालिन अवस्थामा आफैमा एउटा क्रान्ती हो।

माओवादीको भुमिगत आन्दोलनले सर्वहाराको लागि आफूले बन्दुक बोक्नु परेको भनि गाउगाउँबाट वर्गीय आन्दोलनको विरुद्ध गाउँबाट जङ्गल पस्दै गर्दा दलितका पीडा र छुवाछुतको विषयहरू जङ्गलमै भएपनि कुण्ठा रहित वातावरणमा छलफल हुनथाल्यो र सम्पुर्ण जनजाति, दलित, निम्न वर्गीय सर्वसाधरण सबैले आफ्ना अधिकार समान रूपमा अवसरहरू पाउनुपर्छ भनेर खुलेर माग गर्ने वातावरणको निर्माण भयो। यसको विशेष श्रेय वीपी कोइराला पछि माओवादी नेतृत्व गर्ने नेताहरू प्रचण्ड, बाबुरामहरूलाई दिनै पर्छ।

वर्षौं देखि दलित लगायत सामाजिक र साँस्कृतिक रूपमा पछाडि पारिएका पीडितहरूलाई दमन गरेका कारणले आउने केही समय यो समूदायका पीढीहरूलाई खुला प्रतिस्पर्धामा जुधाएर होइन विशेष ग्राह्यताका साथ अवसर दिनु पर्छ भनेर आरक्षणको व्यवस्था हाम्रो संविधानमा व्यवस्था गर्न सम्पुर्ण राजनैतिक दलहरू एक ठाउँमा उभिएर संविधानमा लिपिवद्ध गराइएको हो ।

यी विषय राजनीतिक नभइ राष्ट्रिय मुद्धा बनाएर सबै राजनैतिक दलहरूले स्वीकार गरेर संविधान जारी भयो यसको श्रेय सबै राजनैतिक नेता तथा दलहरूलाई नै जान्छ। सबै जसो संघसंस्थाहरूमा आरक्षणको व्यवस्था व्यवहारमा उतारिएको पनि छ। यसमा गैर सरकारी संस्था मार्फत पनि व्यवहारमा अपनाएको पाइयो अनि जातीय असमानताका आवाजहरू बुलन्द रूपमा गाउँगाउँ, सहरसहरमा छलफलका विषय वस्तु बनेका छ्न। पहिले यी विषयहरू यसरी दबाएर राखिन्थ्यो कि यी विषयहरू छलफलका विषयनै हुँदैन थियो।

दमन गर्नेलाई पनि बाबुबाजेले गरेकै कुरालाई निरन्तर भएकाले यो प्राकृतिक लाग्ने छ । अनि दमित वर्गलाई पनि यो सहन प्राकृतिक लाग्थ्यो बाबुबाजेले सहेको र आफुले पनि त्यसैको निरन्तरता गरेको कारण पनि यसलाई सामान्य बनाउने व्यावहारिक प्रयास (दुस्प्रयास) भएको पाइन्छ ।

दलितहरूको मनोवल यति कमजोर थियो कि उनिहरूले नै आफ्ना लागि आन्दोलन गरेर यो सम्भव थिएन तसर्थ गैर दलितले नै उनिहरूको कुरा उठाउनु जरुरी थियो। त्यस अर्थमा यो जातजातिको लडाई होइन यो दमन र दमितको हो। यो दलित र गैर दलितको होइन यो शोषण र शाषकको हो र अहिलेको लडाई संविधानले लिपिवद्द गरेका अधिकारको प्रयोग व्यवहारमा आम जनजीवनमा सुनिश्चिता गराउनु हो,प्रयोगमा ल्याउनु हो।

जातीय विभेद दलितको समस्या मात्र होइन, सामाजिक समस्या हो । जव यस्ता समस्यालाई कोही समुदाय विशेषको समस्या मान्छौं त्यसबेला समाजमा एक खालको फरक वैचारिक कित्ता र फरक विचारको सामाजिक द्वन्द्व सिर्जना हुन्छ ।

सांस्कृतिक र रीति–रिवाज जरो गाडेर बसेको हुन्छ त्यसलाई त्याग्न कम्तिमा नयाँ पीढीले सक्नुपर्छ। हालै सामाजिक सन्जालमा चर्को विषयवस्तु बनेको छ । दलितलाई गैर दलितले घर भाडामा बस्न इन्कार गरेको विषय, फेरि पनि हामी दलितको विभेदका कुरा हामी समाजिक सन्जालमा खुलेर कुरा गरेका छौ । यसले पुराना पीढीलाई दमन गर्नु गलत हो र गैरकानूनी भनेर डर दिन्छ भने नयाँ पीढीका लागि विभेद भएको कुरालाई आत्मसात गर्दै समान भावको व्यवहार गर्न प्रेरणा मिल्दछ।

घरमा हजुरआमा बुवाले मन्नुहँुदैन भनेर भन्नु पनि एक किसिमले नयाँ पीढीमा आउदासम्म यो नयाँ पीढीले आफुले अपन्तव लिन छाडेको र हजुरआमा बुवा तर्फ देखाउनु पनि यो मनोविज्ञान नयाँ पीढीले अपनत्व नलिएको हो र नयाँ पीढीमा यो विभेद धेरै सम्म पसिसकेको छ भन्ने स्पष्ट हुन्छ। सामाजिक सन्जालमा नयाँ पीढीले दलित गैर दलित भन्दा पनि त्यो हजुरबुवा र हजुरआमाको तर्फबाट पनि वकालत गरेको पाइन्छ। हजुरबुवा आमालाई सम्झाउन तर्फ लागौं ।

यो विभेद सामाजिक रूपमा मात्र हैन कानुनी रूपमा झनै वर्जित छ, कानुनको अज्ञानता हजुरबुबालाई पनि क्षम्य हुँदैन । तसर्थ पीढीबीच को पनि हो, बाउ बाजे र सन्तानहरूबीचको न कि दलित र गैर दलितकोबीचको लडाईं हो ।

कतै हाम्रै घरमा भाडा दिँदा हाजुरबुवा हजुरआमालाई सम्झाउन सकेर दलितलाई घरमा भाडा दिने हरेक गैर दलितले सकिन्छ कि सकिँदैन स्वतन्त्र भएर त्यो आत्मसात गरेर विरोध गरौं। क्रान्ती घरबाटै हुन्छ। सबैले घरबाट यो क्रान्तिको थालनी गरौं नयाँ पीढीमा पक्कै पनि दलित भनेर विभेद गर्छ, जस्तो मलाई लाग्दैन यसलाई शोषक र शोषित, अपहेलितबीचको लडाई बनाउँ।

सबैले आ–आफ्नो पहलमा यो विभेदको अन्त्य गरांै। यसलाई दलित र गैर दलितबीचको आन्दोलन नबनाउँ, यो कसैको इसारामा दंगा र झगडा बनाउने र नेपाली–नेपालीबीच लडाउन सक्ने सिकार हामी नबनौं। सबैले आ–आफ्नो घरमा क्रान्ती गर्न पहल गरौं, फेसबुकमा राम्रो लेखेर भएन व्यवहारमा आफ्नो घर घरमा विभेदका लागि आवाज उठाऔं ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं