Sunday, July 25, 2021

जातीय विभेदको घटनामा राज्य मौन बसेको भन्दै कांग्रेसले उठायो चार प्रश्न : राज्य न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता ?

काठमाडौं– नेपाली कांग्रेसले जातीय विभेदका राज्य कहाँ उभिने भनेर अस्पष्ट भएको बताएको छ । शुक्रबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रश्न गरेका छन् , ‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?’

कांग्रेसले विज्ञप्तिमा राज्य न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता ? भनेर प्रश्न गरेको छ ।

विज्ञप्तिमा संचारकर्मी रुपा सुनारले दलित भएकै कारण कोठाभाडामा नपाएको विषयमा आरोपी सरस्वती प्रधानलाई छुटाउन बहालवाला नेपाल सरकारका मन्त्री कृष्ण गोपाल श्रेष्ठको संलग्नतालाई जोडेर कांग्रेसले प्रश्न उठाएको छ ।

‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘प्रश्न रुपा सुनार र सरस्वती प्रधान बीचको संवाद र विवादको मात्रै होइन प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो । हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो ।’

विभेदका कारण अनेक अपमान, अवहेलना र हत्या समेत जारी रहेको तर पछिल्लो घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको भन्दै कांग्रेसले भनेको छ, ‘गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू ? ’

यी हुन् कांग्रेसले उठाएका चार प्रश्न :

१) घटनाको अनुसन्धान , कार्वाही र समाधानको एउटा निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?

२) निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुंदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले विशेष सतर्कता र गम्भीरता राख्नुपर्दछ । त्यो जिम्मेवार भूमिकाबाट के राज्यलाई विमुख गराउन लागिएको हो प्रधानमन्त्रीज्यू ?

३) द्वन्द्व निरुपण होइन भड्कावलाई बल पु¥याउने मन्त्रीको भूमिका ब्यक्तिगत स्वेच्छाचारीता कि राज्यकै प्रतिनिधित्व ? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?

४) राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मुल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?

Leave a Reply

ताजा खबर

यो पनि पढौं