Sunday, July 25, 2021

कविता : म परदेशी


– पदम आचार्य, हाल : दुबई

परदेशमा सबै गौण हुँदो रहेछ
मनमा हुँदो रहेछ न जात, न धर्म
न लिङ्ग न भुगोल
हुँदो रहेछ देश प्रेम
र सबै माथिको उही आत्मियता

मलाई परदेशी भनेर नठग्नु
मलाई परदेशी भनेर नहेप्नु
मेरा पनि कैयौं सपना छन्।
रहर र खुसी छन् ।
र मेरा पनि चाह छन्।

रहरले हिँडेको होइन,
बाध्यताले हिँडेको हुँ,
न लुट्नु मलाई परदेशी भनेर ।

हो म पहाडिया हो,
म हिमाली हो ,
म तराई बासी हो,
म गाउँले पनि हो,
सहरिया पनि हो,
त्यो भन्दा ठूलो म नेपाली हो ।

मसँग कुनै जात नसोध्नु,
म बाहुन पनि हो,
दलित पनि हो,
जनजाति पनि हो ।

मेरो हरेक शरीरको कुना कुना मा
तिम्रो जस्तै रातो रगत बगेको छ।
मलाई जातको आधारमा
लिङ्गको आधारमा
भेदभाव नगरिदिनु ।

मेरो मुटु मा नेपाल आमा बसेकी छिन्
उनलाई खुसी पार्न हिँडेको म परदेशी हो ।
मेरा पनि रहर थिए।
त्यो हरियाली पहाडको टापुमा बसेर
स्वर्गको अनुभूति गर्न,
मेरो पनि रहर थियो
हिरा जस्तै टल्किने हिमशिखर चुम्ने,
तराईका ती एतिहासिक ठाउँहरूमा घुम्ने झुम्ने ।

ती सबै रहर हरुलाई थाती राखेर
एउटा पिठियुँमा बाले परार साल
लाहुरबाट लिएको त्यही पुरानो झोला बोकेर
हिँडेको एक तिमी जस्तै
म त्यही परदेशी हो।

जो लाखौं मध्येमा एक पर्छु
म जस्तै कैयौं यस्तै यस्तै रहरहरूलाई
एउटा कुनामा राखेर हिँडेका छन्।
कति गास मेटाउन हिँडेका छन् ।
कति बास बसाउन हिँडेका छन्।
हो त्यही मध्ये को एक
म परदेशी हो ।

परिवार माया घरको माया
साथीसंगी गाउँ छर छिमेकको माया लाई सम्हालेर
आज दिन काटेको छु
रात काटेको छु
सही नसक्ने चर्को घाम
त्यसै माथि सोह्र घण्टाको काम
साँच्चिकै त्यतिबेला परदेशी भएको महसुस हुँदोरहेछ
सबै परिवारको साथमा बसेर
मिठो मसिनो जे भएपनि खाए जस्तो त
यहाँ जे खाएपनि नहुँदो रहेछ

कहाँ सजिलो छर यो परदेशी जीवन
मेरो देशमा रोजगार भइदिएको भए
मेरो देशमा राम्रो शिक्षा स्वास्थ्य भइदिएको भए
मेरो देश अरु देश जस्तै विकसित भइदिएको भए
किन परदेशीनु पथ्र्यो र ।
किन एक छाक खानलाई भौतारिनु पथ्र्यो र ।

म परदेशी भइन भने
मेरो परिवार भोको हुन्छ
मेरो देश भोको हुन्छ
आधा भोक देशको
आधा भोक परिवारको
मेट्न हिँडेको हो म एक परदेशी हो ।

सुन्छु परदेशबाट विभेदको खबर
सुन्छु आग्रह र पूर्वाग्रहको खबर
सुन्छु पहिचानको खबर
समानता र न्यायका रटान

परदेशमा सबै गौण हुँदो रहेछ
मनमा हुँदो रहेछ न जात, न धर्म
न लिङ्ग न भुगोल
हुँदो रहेछ देश प्रेम
र सबै माथिको उही आत्मियता

मैले परदेशबाट बुझेको
मन हुन परदेशी हुनुपर्दो रहेछ
नेपाली हुन परदेश हुनुपर्दो रहेछ
देशमा त फेरि उही कित्ता छुटिँदो रहेछ
हो परदेशी हुनुपर्दो रहेछ ।।

Leave a Reply

ताजा खबर

यो पनि पढौं