Sunday, July 25, 2021

प्रधानमन्त्री ओलीका कदममा पूर्व राजा ज्ञानेन्द्रको सिको : उपेन्द्र यादव

काठमाडौं–जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको गरेर संसद मासेको आरोप लगाएकाछन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै यादवले प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले शासन चलाउन खोजेको बताए ।

‘राजा ज्ञानेन्द्रले असंवैधानिक तरिकाले संसद हातमा लिएको सिको गदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद विघटनको बाटो रोजे’ उनले भने, ‘उनले अध्यादेश मार्फत राज्य चलाएर, स्वेच्छाचारी र निरंकुश शासन चलाउने षडयन्त्र गरेकाछन् ।’

उनले सर्वोच्च अदालतले पहिलो संसद विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भन्दा भन्दै पनि त्यही संसदमा गएर प्रधानमन्त्री बनेर दोस्रो पटक संसद विघटन गर्ने काम गरेको बताए । उनले भने, ‘संसारमा ओलीमात्र एक यस्ता शासक होलान् जसले एउटै संसदमा दुई पटक संसद विघटन गरे ।’

यादवले आफै संसदमा विश्वास छैन भनेर फेरि बहुमत देखाउँदै प्रधानमन्त्री बन्ने दौडमा जाने अनौठो काम गरेको बताए ।

१४९ जना प्रतिनिधि सभाका संसदको हस्ताक्षरले शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्ने आधार प्रस्तुत गरेको भएपनि राष्ट्रपतिले शंकास्पद तरिकाले देउवालाई प्रधानमन्त्री बन्न नदिएको उनको भनाइ थियो ।

अध्यक्ष यादवले राष्ट्रपतिले ओली बाहेक कसैलाई पनि प्रधानमन्त्री बनाउन नचाहेको स्पष्ट पार्दै भने, आधार प्रस्तुत गर्दा गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन नखोज्ने राष्ट्रपतिले ओली बाहेक कोही पनि प्रधानमन्त्री बन्न सक्दैन भनेर भन्नुपर्ने बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं