Sunday, July 25, 2021

काठमाडौं महानगरपालिकाको बजेट १८ अर्व ९५ करोड ७७ लाख, सम्पत्ति करमा ९० प्रतिशतसम्म

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ ।

काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

उपप्रमुख खड्गीले महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको बताइन् ।

बजेटमा कोभिड–१९ रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिइएको छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट दिने उल्लेख छ । साथै कर बक्यौतामा लाग्ने जरिवाना छुट बहाल करमा दशप्रतिशत वा पच्चीस हजार रुपैंयासम्म छुट व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत छुट लगायतका व्यवस्था छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं