Sunday, July 25, 2021

योजनाको रकम हिनामिनाको विवादमा मुछिए माओवादी नेता श्रेष्ठ, उनी भन्छन, ‘तथ्यहिन भ्रामक आरोप’

स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको रकम हो, योजना छनौट र कार्यान्वयनमा जिल्लाका स्थानीय तहका प्रमुखको सहभागिता हुन्छ, मैले निर्णयको आधारमा हस्ताक्षर गरेको छु, बाँकी कार्यान्वयनमा मेरो संलग्नता हुने प्रसंगै रहन्न : श्रेष्ठ

काठमाडौं– रामेछापको रामेछाप नगरपालिका वडा नं ४ स्थित रेणुकादेवी माध्यामिक विद्यालयका हिमगंगाको योजनाको रकम हिनामिना गरेको भन्दै प्रतिनिधि सभाका निवर्तमान सांसद तथा माओवादी केन्द्रका नेता श्याम कुमार श्रेष्ठ ‘कुशल’ विवादमा तानिएका छन् ।

उनलाई विद्यालयका विभिन्न पूर्वाधार निर्माणमा विनियोजित रकमबाट २२ लाख रकम दुरुपयोग गरेको आरोप लागेको हो । विद्यालयको घेरबार, पर्खाल, सिँढी लगाउयतका संरचना निर्माणमा विनियोजन रकम नेता श्रेष्ठले अनियमिमता गरेको समाचार विभिन्न संचार माध्यममा आएको भन्दै यस विषयमा छानविन समेत सुरु भएको हो ।

विद्यालय रहेको रामेछाप नगरपालिकाका मेयर नर बहादुर थापा मगरले समाचार बाहिर आएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले आवश्यक कागजात अध्ययनको लागि लगेको जानकारी दिए । उनले यस विषयमा आफू अनविज्ञ रहेको बताए ।

आफ्नै नगरपालिका अन्तरगतको कार्यक्रममा नगर प्रमुखले जानकारी छैन भन्न मिल्छ ? उनले भने, ‘नगरमा योजना हेर्ने फाँट छुट्टै हुन्छ, सबै कुराको जानकारी हुन्न, यस विषयमा पहिले कुरा उठेको पनि हैन, अहिले संचार माध्यममा आएपछि मलाई जानकारी भयो ।’

उनले प्रशासनले कागजात लगेको र नगरले पनि छानविनको लागि प्राविधिक खटाएको जानकारी दिए । ‘केही कागजात अपुग भएको भन्ने सुन्नमा आएको छ, विद्यालयको विषयमा सार्वजनिक सुनुवाईमा पनि कुरा उठेको थियो तर यो विषय थिएन’ उनले भने ।

नेता श्रेष्ठ भन्छन, ‘तथ्यहिन भ्रामक आरोप’

यस विषयमा नेता श्रेष्ठसँग कुरा गर्दा तथ्य प्रमाण विना नियोजित तरिकाले आरोप लगाइएको बताए ।

‘म जनताकाबीचमा राम्रो छबि बनाएको जिल्लाको जनप्रतिनिधि हो, पटक पटक निर्वाचित गराएर जनताले यही आधारमा पठाएका हुन्, अहिले म माथि लगाइएको आरोप मेरो यही छबि धमिल्याउने प्रयास मात्र हो’ उनले भने, ‘मलाई नाङ्गेझार पार्ने प्रयास यस अघि पनि भएका थिए र अहिले पनि त्यो समूह लागि परेको छ ।’
उनले आफूमाथि आरोप लगाउँदा कि त तथ्यमा रहेर नभए कम्तिमा आफ्नो राय लिनुपर्नेमा तथ्यविना नियतवशः समाचार आएको बताए ।

‘मैले पारेको योजना हो तर योजनाको कार्यान्वयनको सुरुवाती देखि सम्पन्न हुँदासम्म मेरो प्रत्यक्ष संलग्नता छैन, म कतैबाट नजोडिएको र योजनाका नाममा एक कप तातोपानी पनि नखाएकोलाई २२ लाख हिनामिनाको आरोप लगाइयो’ उनले भने, ‘जिल्लामा जनतालाई सत्यतथ्य बुझाउन त सकुँला तर सार्वजनिक संचार माध्यममा तथ्यहिन समाचार ल्याएर मेरो राजनीतिक करियरमा गाह्रो पार्ने काम भएको छ।’

उनले समाचारमा आएका धेरै कुराले नै आरोपमा सत्यता नभएको बताए । उनले योजना समाचारमा २०७४ मै खारेज भएको संसद विकास कोषबाट आएको रकम भनेर उल्लेख गरिएको बताए ।

‘उक्त रकम स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको रकम हो, योजना छनौट र कार्यान्वयनमा जिल्लाका स्थानीय तहका प्रमुखको सहभागिता हुन्छ’ उनले भने, ‘मैले उनीहरूको निर्णयको आधारमा हस्ताक्षर गरेको छु, बाँकी कार्यान्वयनमा मेरो संलग्नता हुने प्रसंगै रहन्न। ’

उनले उक्त योजना कांग्रेसबाट निर्वाचित नगर प्रमुख नर बहादुर थापाको आग्रहमा दिएको बताए । ‘मैले १० लाख छुट्याउने भनेको थिएँ तर सबैले विद्यालयमा धेरै समस्या देखाएसँगै ४० लाख रुपैयाँ बजेट पारेको हो, डिपिआर, कार्यान्वयन, फरफारक सबै नगर र वडाले गर्ने काम हो’ उनले भने ।

उनले योजना सम्पन्न गर्न जिल्लामा परामर्श समिति वा निर्देशक समिति हुने र समितिको बैठक बसि स्थानीय बजेट विनियोजन को लागि स्थानीय सरकारबाट कार्यान्वयन हुने गरि बजेट पठाइने गरेको बताए।

श्रेष्ठले समाचार बाहिर आएसँगै यस विषयमा छानविन गर्न अनुगमनमा टोली पठाएको र सम्बन्धित जिम्मेवार निकाय र व्यक्तिसँग कुराकानी गरिरहेको बताए । ‘मेरो विषयमा कुरा उठ्यो भनेर मैले पूर्वाग्रह राख्ने कुरा भएन, म त्यस क्षेत्रको जिम्मेवार जनप्रतिनिधि हो, भएको के हो भन्ने कुरामा मलाई पनि चासो छ, अनुसन्धानमा आवश्यक सहयोग गर्छु ।’ उनले भने ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं