Sunday, July 25, 2021

सरकारका विरुद्ध पाँच विद्यार्थी संगठनले प्रदर्शन गर्ने

काठमाडौं– विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले बिहिबार (आज) सरकारका विरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पार्टी गठबन्धनले सडक संघर्ष गर्ने निर्णय गरेसँगै विद्यार्थी संगठनले पनि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारका गतिविधि अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्वीयू (नेपाल–खनाल समूह), जनता समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौंले संयुक्त रुपमा आन्दोलन गर्न लागेका हुन् ।

विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाबाट जनता आक्रान्त भइरहेको बेला ओली सरकार जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन, महंगी र भ्रष्टाचार थोपरिएको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयले सरकारले संविधान माथि प्रहार गरेको र नागरिकको स्वास्थ्य र जनजिविकको सवालमा सरकार बेखबर भएको भन्दै प्रदर्शन गर्न लागेको जानकारी दिए ।

‘हामीले कोरोना महामारीका कारण सडकमा नआए पनि खबरदारीका कार्यक्रम निरन्तर गर्दै आएका हौं, सरकारका गतिविधि असंवैधानिक छन्, संविधान माथि नै प्रहार भएको छ’ उनले भने, ‘नागरिकको स्वास्थ्य माथि खेलवाड गर्ने, महंगी, अनियमितता र भ्रष्ट्राचार बढ्दा पनि सरकार नियन्त्रणको प्रयासमा छैन त्यसैले पनि दवावको कार्यक्रम आवश्यकता भएको हो।’

महामन्त्री पाण्डेयले स्वास्थ्यका मापदण्ड पुरा गरेरै आन्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी दिए । उनले उपत्यका बाहिर पनि विरोधका कार्यक्रम गर्ने र बिहीबारको प्रदर्शन पछि थप कार्यक्रम गरिने बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं