Sunday, August 1, 2021

नेपाली लोकसंगीतमा देउडा

– गोबिन्द साउँद

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो ।

बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ । यहाँको भाषा, कला र धार्मिक अवस्था अनि लोकसंगीतमा पनि बिविधता पाइन्छ ।


हरेक क्षेत्रका मानिसहरूले नेपालमा परापुर्वकालदेखि नै फरक फरक संस्कृति र संस्कारलाई आफ्नो परम्परा र मूल्यको रुपमा महत्व दिएका छन् । हिन्दु धर्म ग्रन्थ बमोजिम वेदबाट उत्पत्ति भएको संगीत आज मानव जीवनको महत्वपूर्ण अंगको रुपमा रहिआएको छ ।

हिन्दु धर्मावलम्बीको धार्मिक ग्रन्थ वेदबाट सिर्जित मानिने शास्त्रीय संगीतसँगसँगै उनीहरूले अपनाउने धार्मिक,सांस्कृतिक र भाषिक परम्परा बमोजिम परिमार्जित हुँदै अहिलेको आधुनिक लोकसंगीतसम्म आइ पुगेको हो । लोकसंगीत मानव जीवनको अभिन्न अंग हो ।

जसले विभिन्न सम्प्रदाय र भाषिक परिवारमा फरक किसिमको पहिचान दिलाउनुका साथै फरक इतिहास पनि बोकेको छ । हजारौं हजार वर्ष पहिलेदेखि विकसित भएको लोकसंगीत नै लोक जीवनको आधार स्तम्भ हो ।

लोकगीत, लोकगाथा, लोकनाटक, लोकनाच तथा लोकबाजाहरू नै लोकसंगीतका आधार हुन् । तर समय अनुसार लोकसंगीतसँगै लोक सामाग्री पनि परिवर्तनशिल हुन्छन् । नेपाल विभिन्न जातजाती, भाषा र धार्मिक समुदायका मानिसहरूको बसोबास भएको देश हो ।

यहाँ बसोबास गर्ने हरेक समुदायका आ–आफ्नै लोकसंगीत छन् । पुर्व मेची देखि पश्चिम महाकाली अनि हिमाल देखि तराईसम्म बसोबास गर्ने हरेक नेपालीको फरक भाषा फरक धर्म र फरक लोकसंगीतहरू छन् । जसमध्ये छुट्टै पहिचान बोकेको सुदुरपश्चिम र कर्णाली क्षेत्रका केही भु –भागमा प्रचलित देउडाको पनि छुट्टै पहिचान र इतिहास छ ।

डोटेली राज्य र कर्णाली क्षेत्रको खस राज्यका शासकहरूले प्रयोग गर्ने भाषासँगै लिखत दस्तावेजहरूमा प्रयोग भएको पाइने भाषाले नै यस क्षेत्रको पहिले देखि नै छुट्टै पहिचान बनाएको छ । दशै , होली , गौरा पर्व , तिहार लगायतका विभिन्न शुभ कार्यहरूसँंगै मेलापात गर्दा विभिन्न तरिकाले गाइने देउडाले सुदुरपश्चिमको छुट्टै झल्को दिने गर्दछ ।

देउडामा विशेष गरि ठाडी भाका , हुडक्यौली , धमारी , झोडा लगायतका गायन बिधा परापुर्वकाल देखि नै प्रचलनमा छन् । देउडा गीतलाई एकल रुपमा पनि गाउन सकिन्छ । संस्कृत भाषाको देउंरायु शब्दबाट देउदुरा हुँदै देउडा भन्ने शब्द बनेको हो भन्ने पनि विभिन्न लेखन स्रोतमा उल्लेख भएको पाइन्छ ।

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो । नेपाली भाषाको विकाससँगसँगै लोकसंगीत र साहित्यको क्षेत्रमा पनि देउडाले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

पश्चिम भु–भाग अन्तर्गत अहिलेको सुदूरपश्चिम र कर्णालीलाई पहिले खस राज्यका नामले चिन्ने गरिन्थ्यो । खस राज्यहुँदा उनिहरूको शासन गर्ने थलो जुम्लाको सिंजा थियो । जुन नेपाली भाषाको उदगम ठाउँ हो । देउडाको इतिहास खोतल्दै जाने हो भने खस राज्य भन्दा पहिलेको कत्युरी शासनकालमा पनि यसको प्रयोग भएको पाइन्छ ।

खसहरूको शासनकालमा यहाँको भाषा पुर्वी नेपालसम्म पुगेपछि नेपाली भाषाको मान्यता प्राप्त गरेको थियो । त्यसपछी बिस्तारै बिस्तारै यहाँको लोक जीवनमा प्रचलित देउडाले केही मात्रामा नेपाली लोकसंगीतमा आफ्नो पहिचान बनाउंदै गएको पाइन्छ ।

देउडाको बारेमा विभिन्न व्यक्तिका खोज अनुसन्धानमा आफ्ना आफ्ना तर्क र विचार छन् । परापूर्वकालमा नेपालका बाइसे र चौबिसे राज्यमा शासन गर्ने शासकका लिखित दस्तावेज र साहित्य लेखनमा यश क्षेत्रका केही शब्दहरू प्रयोग भएको देख्न सकिन्छ ।

पृथ्वीनारायण शाहको दिव्य उपदेशमा समेत यहाँका मौलिक शब्द को प्रयोग भएको पाइन्छ । जस्तै ः आया ,गया ,खाया जस्ता शब्द । डोटेली इतिहास अध्यन गर्दा देउडा गीतलाई न्याउल्या गीत भनेर परिभाषित गरेको पनि पाइन्छ । दुःखान्त नाटककार पहलमान सिंह स्वारले पहिलो पटक देउडा शब्दको प्रयोग गरेका थिए ।

कोल घुमे जस्तै गरेर गोलाकार रूपमा खेलिने खेललाई देउडा भनिन्छ भनेर उनले आफ्नो लेखमा लेखेका छन् । योगी नरहरि नाथ ज्युले लेखेको कर्णालीको इतिहासमा न्याउल्या खेल बारे उल्लेख गरेको पाइन्छ । यहाँको भाषालाई पहिचान गराउन शिक्षा प्रेमी बझाङ्गी राजा जय पृथ्वी बहादुर सिंहको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

त्यस्तै यस क्षेत्रको देउडालाई लोकसंगीतमा जोड्न गायक स्वर्गीय परिमल स्नेही ,नन्दकृष्ण जोशी , भोजराज भट्ट , नरेन्द्रराज रेग्मी लगायतका दर्जनौं गायक सर्जकहरूको महत्वपूर्ण भूमिका रहेको छ । यहाँको गीतसंगीतमा विशेषगरि मादल, हुडको, सनइ, मुर्चुङगा, बाँसुरी, हार्मोनियम, दमाहा, ढोलक, नरसिंगा, पिपरी, झ्याली आदि लोकबाजाको प्रयोग भएको पाइन्छ । देउडामा माया प्रेमका गीत मात्रै गाउने गरिदैन ।

महत्वपूर्ण पर्वहरूमा देवी देवताका देव गाथाहरू पनि लोक देउडामा गाउने गरिन्छ । पश्चिम राज्यको नजरबाट टाढा भएतापनि यसको छुट्टै पहिचान र संस्कृति रहेको छ । सुदूरपश्चिमामा प्रचलित देउडा नै यहाँको लोकसंगीत हो । समय अनुसार देउडाको विकाससँगसँगै यसको लोकप्रियता पनि बढदै गएको देखिन्छ ।

देउडा संस्कृतिको विकास सुदूरपश्चिममा मात्रै सिमित नभइ मध्यपश्चिम लगायतका क्षेत्रमा पनि बिस्तार भएको पाइन्छ । डेढ कदम पाइला चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यसलाई देउडा भन्ने गरिन्छ । यसले लोकजीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

जसरी पश्चिम पूर्व तिर प्रचलित रोइला ,चुडका,झाम्रे लगायतका अन्य गीतहरूले मानिसका पिर–व्यथासँगै मानिसलाई रमाइलो गर्ने माध्यम लोकसंगीत बनेको छ त्यस्तै यहाँको लागि देउडा पिर–व्यथा भुलाउने माध्यम बनेको पाइन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं