Sunday, July 25, 2021

सिन्धुपाल्चोकका बाढी प्रभावित पालिकाहरुलाई काठमाडौं महानगरले गर्यो तीन करोड आर्थिक सहयोग

काठमाडौं– काठमाडौं– काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको बाढीजन्य विपत्तिमा सहयोग गर्न मेलम्ची नगरलाई २ करोड र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०/५० लाख रुपैयाँ सहयोग गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार वडाध्यक्ष र कार्यपालिका सदस्यसहित मेलम्ची पुगेर उक्त रकम हस्तान्त्रण गरे । उनले उक्त रकम मेलम्ची नगरका प्रमुख डम्बरबहादुर अर्याल र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टाँसी लामालाई हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्, संघ तथा प्रदेश सभा सदस्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरकी उपप्रमुख भगवती नेपाल, पाँचपोखरी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीसहित पदाधिकारीहरु सहभागी थिए ।

सहयोग रकम हस्तान्तरण अवसरमा बोल्दै स्वास्थ्यमन्त्री तामाङ्ले, विपद् व्यवस्थापन गर्न पालिकाहरु आफैले कोष बनाएर सञ्चालन गर्न सुझाव दिए । ‘जुरेको पहिरो व्यवस्थापन गर्न प्राप्त भएको रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरियो । कानुनी जटिलताले गर्दा संकलित रकममध्ये केही रकम अहिले पनि खर्च हुन पाएको छैन । यसबाट हामीले सिक्नुपर्छ ।’ उनले भने ।

त्यस क्रममा महानगरका प्रमुख शाक्यले, भगिनी सहर मेलम्चीसँगै प्रभावित पाँचपोखरी थाङ्पाल र हेलम्बुृ गाउँपालिकाका जनतामा प्राकृतिक विपत्तिले ल्याएको दुःखमा काठमाडौँ महानगर र महानगरबासीकातर्फबाट सहयोग गर्न आएको बताए । ‘प्रभावका दाँजोमा सहयोग सानो हो । तर हामीले आपसी दुःख बाँड्न खोजेका हौँ ।’ शाक्यले भने, ‘पुनस्र्थापनाको काम तत्काल पूरा गर्न सकिँदैन । यो नियमित प्रक्रिया हो । यसप्रकार विपत्तिको सामना गर्दा नेतृत्व आत्तिनु हुँदैन । संयमता अपनाएर काम गर्नुहोला । महानगरको तपाईँहरुको दुःखमा साथमा छ ।’

‘असार १ गते आएको बाढीले यसअघि नगरपालिकाले गरेका सबै कतै पुरिदियो कतै बगाइदियो । बस्ती र बजारलाई बगर बनाइदियो । उर्वर भूमिलाई मरुभूमि बनाइदियो’ बाढीले ल्याएको विपत्तिको कुरा सुनाउँदै मेलम्ची नगरका प्रमुख अर्यालले भने, ‘यो दुःखको घडीमा आत्मीयता प्रकट गर्न आएको काठमाडौँ महानगर परिवार आएपछि मलाई क्षति व्यवस्थापनमा थप हौसला मिलेको छ ।’

बाढी पहिरोले नगरका १३ वडामध्ये ४ वटा वडासँग अहिले सम्पर्क विच्छेद छ । बाढीले नगरका ६ वटा वडामा प्रभाव पारेको छ । त्यसमध्ये वडा ६, १० र ११ मा धेरै क्षति पु¥याइको छ । यसले कति क्षति ग¥यो तथ्याङ्क संकलन कार्य थालिएको र त्यो एकिन विवरण नआएसम्म हामी यति मात्र भन्न सक्ने अवस्था नरहेको प्रमुख अर्यालले बताए ।

त्यस क्रममा प्रदेश सभा सदस्य माधव पौडेलले, जोखिमयुक्त ठाउँलाई जोखिममुक्त बनाउन सामुहिक प्रयत्नको आवश्यकता रहेको बताए ।

काठमाडौँ महानगरपालिकाको असार ३ गते बसेको नवौँ नगर सभाको पहिलो बैठकले बाढी प्रभावित मेलम्ची नगरलाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै असार ४ गते बसेको दोस्रो बैठकले हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५०÷५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

अहिले बाढी प्रभावित क्षेत्रमा राहत लिएर जाने र रमिता हेर्न आउनेको बाक्लो उपस्थिति हुने गरेको देखिन्छ । त्यहाँका स्थानीयहरुमध्ये जसको सर्वस्व गयो उहाँहरुलाई आधारभूत आवश्यकता पूरा गर्न खाद्यान्न र बासस्थानको जरुरी देखिन्छ भने कतिपय व्यक्तिको अहिलेसम्म बचेको घरमा अब क्षति होला कि भन्ने चिन्ता छ ।

यस्ता व्यक्तिहरु राहत होइन, नदीको धार व्यवस्थापन गर्न र जोखिम भएको ठाउँमा ग्याविन वाल लगाइदिए हुन्थ्यो भन्ने अपेक्षामा छन् । नदीका किनारामा भेला हुने स्थानीय पाका मानिसहरु भन्छन्, ‘बाबु, बाढी नआउने समयमा नदीले यो रुप देखायो, अब साँच्चे बाढी आउने समयमा त झन के होला । ती पाका मानिसहरुको बुझाइ छ, दोर्जे लाक्पा हिमालमा तल्लो भागमा जम्मा भएको पानी ३० प्रतिशत मात्र आएको छ । बाँकी ७० प्रतिशत त बग्न बाँकी नै छ । त्यो एकैपटक आयो भने संसार सक्छ ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं