गृहपृष्ठ राजनीति महाधिवेशन पार्टीको जिवन्तताका लागि महायज्ञ हो, तोकिएको समयमै हुन्छ : कांग्रेस

महाधिवेशन पार्टीको जिवन्तताका लागि महायज्ञ हो, तोकिएको समयमै हुन्छ : कांग्रेस

प्रकाशित मिति:

काठमाडौं -कांग्रेसले पार्टीको चौधौं अधिवेशन भदौ भित्र सम्पन्न गर्ने भएको छ। बुधबार सभापति शेर बहादुर देउवाले विज्ञप्ति जारी गर्दै भदौ भित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको भन्दै समयमै महाधिवेशन गर्ने कुरामा शंका नगर्न आग्रह गरेकाछन् ।

‘ यस्तो विषम् परिस्थितिमा पनि हामीले यहि भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘ म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

उनले महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको भन्दै पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएको उल्लेख गरेकाछन्।

‘ महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनु पर्दछ ।’ सभापति देउवाले उल्लेख गरेकाछन्, ‘ हामीसँग अब बढी समय छैन । आषाढ र श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन् ।’

उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गरेकाछन्।

सम्बन्धित् समाचार