Thursday, June 17, 2021
युनिकोड

विपन्नलाई लक्षित गरी सुपथ मूल्य पसल


रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । गत वर्षदेखि थालिएको पसल यो वर्ष पनि सञ्चालनमा छ । कोरोना महामारीका कारण असजिलोमा रहेकाहरूका लागि भन्दै नगरपालिकाले दुई ठाउँबाट सुपथ मूल्यका सामग्री बिक्रीवितरण गरिरहेको हो । हेरक मङ्गलबार र शुक्रबार नगर प्रहरीले सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गरेका छन् ।

नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट किनेर ल्याएका सामग्री सर्वसाधारणलाई बिक्री गरिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा पुग्न सर्वसाधारणलाई टाढा रहेको भन्दै नगरपालिकाले नगरमै यस्तो व्यवस्था गरेको हो  ।

यो पनि पढ्नुहोस्>>विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

वडा नं १ देखि ९ सम्मका लागि वडा नं २ को सेवानजिकै खाद्य सामग्री बिक्री वितरण केन्द्र तोकिएको छ । वडा नं १० देखि १४ का सर्वसाधारणलाई लक्षित गरी ११ नम्बर वडाको टाटा बजारमा यसको बिक्री केन्द्र राखिएको नगरपालिकाले जनाएको छ ।

यी पसलमा दुई खाले मूल्य निर्धारण गरिएको छ । उपभोक्ता कार्ड लिएका र नलिएकाहरूका हकमा केही फरक मूल्य निर्धारण गरिएको छ । नगरपालिकाबाट उपभोक्ता कार्ड लिएकाहरूले चामल प्रतिकिलो रु ५०, चिनी प्रतिकलो रु ७० र खाने तेल प्रतिलिटर रु २२० मा किन्न पाइरहेका छन । उपभोक्ता कार्ड नपाएकाका लागि भने चामल प्रतिकिलो रु ५५, चिनी रु ८० र तेल प्रतिलिटर रु २३० मूल्य निर्धारण गरिएको छ ।

यो पनि पढ्नुहोस्>>विपन्न परिवारलाई खाद्य सामग्री वितरण

केही समय नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन स्थगित गरेको थियो । कोरोनाका कारण सर्वसाधारणलाई समस्या परेको भन्दै नगरले फेरि निरन्तरता दिएको हो । गत वर्षको कोरोना महामारीका कारण नगरपालिकाले नगरवासीलाई उपभोक्ता कार्ड वितरण गरेको थियो ।

राहत वितरणमा सजिलो हुने भन्दै मापदण्डका आधारमा अति विपन्न परिवारलाई उपभोक्ता कार्ड प्रदान गरेको थियो । त्यही कार्डका आधारमा सुपथ मूल्य पसलका साथै अरूअरू काममा पनि नगरपालिकाले छुट दिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले जानकारी दिएका छन्  । नगरपालिकाले उपभोक्ता कार्ड वितरण गरेपछि हरेक कामकाज, योजना निर्माण र कार्यान्वयनमा सजिलो भएको छ । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै