दुर्गममा उपचार : निशुल्क भनिएका औषधि पनि किन्ने बाध्यता

मुगु – जिल्ला अस्पताल मा उपचार नपाए र बाटोमा भेटिएकि मुगुको छायानाथ रारा नगरपालिका वडा नं १ कि ५७ बर्षिया औसिसरा नेपालीलाई फलामको डण्डीले टाउकोमा चोट लागेपछि उपचारको लागि गमगढी स्थिति जिल्ला अस्पतालमा पुगिन्। अस्पतालमा चिकित्सकले टिटि खोप लगाउनु पर्ने तर अस्पतालमा नभएको भन्दै निजी मेडिकल तिर पठाए । जयदेशसँग कुरा गर्दै उनले भनिन्, ’टाउकोमा फलामले चोट लागेको हुनाले टिटि खोप लगाउन गएको थिएँ तर अस्पतालमा खोप नभएको भन्दै पठाए, १ सय रूपैया पर्छ भनेको सुनेको छु, मेडिकलमा गएर लगाउनु पर्ला ।’

औसिसरा उदाहरण मात्र हुन् । उनीजस्ता धेरै बिरामी राज्य ले निशुल्क उपलब्ध गराउने भनेका औषधि पाउनबाट बञ्चित छन्।

जिल्ला अस्पताल गमगढीमा ४ दिन देखि आफ्नो छोराको उपचार गर्दै आएका जिल्ला बहादुर सेजुवाल छोराको उपचारको लागि चाहिने औषधि अस्पताल भन्दा बाहिर मेडिकलबाट किन्दै आएको बताए ।

जिल्ला अस्पतालमा ७२ प्रकारका औषधि निशुल्क पाइने भएपनि अस्पतालमा सबै अ‍ौषधि उपलब्ध छैनन् ।
अस्पतालका स्टोरकिपर विष्णु बिष्टले जिल्ला अस्पतालकोलागि ६० देखि ६२ प्रकारका अ‍ौषधिमात्र आउने गरेको बताए ।

उनले भने, ’प्रदेश आपुर्ति शाखा सुर्खेत र नेपालगञ्जबाट वर्षमा तिनपटक बिरामीको तथ्यांकको आधारमा ६० देखि ६२ प्रकारका औषधिमात्र आउने गरेको छ । बाँकी नपुग औषधि प्रदेशको आर्थिक सहयोगमा १ वर्षमा ३० लाख सम्म औषधि खरिद गर्ने गरिएको छ र बिरामीहरुलाई भएजतिसक्दो औषधि अस्पतालबाट उपलब्ध गर्ने गरिएको छ ।’

सरकारले औषधि उपलब्ध गराउने र थप औषधि खरिदको लागि रकम समेत उपलब्ध गराउँदा पनि सर्वसाधरण निजी फार्मेसीबाट औषधि किन्न बाध्य छन् । किन त ? स्टोर किपर विष्टले भने, ‘भएका औषधि दिएकै छौं, अहिले सकिएको कारण निशुल्क भनिएकै औषधि पनि दिन सकिएको छैन ।’

सरकारले बजेटमा नागरिकको स्वास्थ्य सेवामा सचेत रहेको बताउँछ । स्वास्थ्य क्षेत्रमा राज्यले छुट्याउने बजेट शिक्षा पछिको दोस्रोमा आउँछ तर नागरिक निशुल्क भनिएका औषधि समेत किनेर खान बाध्य छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै