मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत लज्जाको विषय : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को शुभकामना दिँदै उनलेे भनेकाछन् , ‘आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन् ।’

उनले सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको उल्लेख गरेकाछन् ।

‘सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ ।’ उनले भनेकाछन्, ‘ सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ ।’

उनले जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरेकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै