जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

नवलपुर ­ – चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार गणना अन्तिम चरणमा पुगेको बेला जङ्गली हात्तीले अवरोध पु¥याएको हो ।

“निकुञ्जमा गौरीगाई पाइने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरेर गणना भइरहेको थियो”, अधिकारीले भने,“१२ वटा ब्लक सकाएर अन्तिमको दुई वटा गणना गर्ने बेलामा जङ्गली हात्तीले अवरोध गरेपछि गणना स्थगन गरिएको छ ।” गौरी गाई गणना कहिलेदेखि पुनः शुरु गर्ने भन्ने बारे यकिन नभएको अधिकारीले बताएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरीगाई)को निकुञ्जले पाँच वर्षपछि गणना थालेको थियो । गौरीगाईको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने उद्देश्यका साथ आन्तरिक अनुगमन तथा गणनाका लागि निकुञ्जका २२ वटा हात्ती र ६० जनशक्ति परिचालन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको गौरी पाइने सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ वटा ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना शुरु भएको थियो ।

सन् २०१६ को गणनाअनुसार नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरीगाई रहेकामा चितवनमा ३६८ पाइएको थियो । सन् १९५० को दशकमा नेपालको पूर्वी क्षेत्र उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने गौरीगाई पछिल्ला दिनमा देखिन छाडेका छन् । सन् २०११ को गणनामा ३१२ वटा गौरीगाई रेकर्ड भएका थिए ।

नेपाल र भारतसमेत दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका ११ देशमा तीन उपप्रजातिका गौरीगाई पाइने गरेको छ । विशेषगरी सुक्खा भागमा बस्न रुचाउने गौरीगाईको सरदर आयु २० देखि ३० वर्ष हुने गरेको छ । ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाहीँ बाघको शिकारमा पनि पर्ने गरेको छ । भाले गौरीगाई ६०० देखि १००० किलोग्रामसम्म हुन्छ । प्रायः जसो एउटा हुलमा आठदेखि ११ वटाको सङ्ख्यामा गौरीगाई रहने गरेको निकुञ्जले जनाएको छ । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै