गृहपृष्ठ कर्णाली घाम लागे काम

घाम लागे काम

सेवाग्राहीले सेवा लिनु पर्दा कार्यालय भन्दा पहिले घाम हेर्छन् ।

प्रकाशित मिति:

मुगु -नेपालको संबिधान भाग २ अनुसार राज्यबाट प्रदान गरिने नागरिक मौलिक हकलाई सुनिश्चित हुने गरि उमेर र प्रकृया पुगेका नागरिकलाई नागरिकता उपलब्ध गराउने प्रावधान छ ।

नागरिकलाई सहजै नागरिकता उपलब्ध गर्ने उद्देश्यले ईलाका प्रशासन कार्यालय मार्फत पनि नागरिकता वितरण गरिँदै आएको छ । ईलाका प्रशासन कार्यालय मार्फत नागरिकता वितरण गर्दा नागरिकलाई केही सहज त पक्कै भएको छ तर प्रभावकारी कार्यान्वयनमा भने धेरै चुनौती कायमै छन् ।

हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकामा स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले घाम नलागे नागरिकता नपाईने बाध्यता छ ।

पालिकामा विद्युतको पहुँच नभएको र वैकल्पिक स्रोतको लागि व्यवस्था गरिएको सोलारले घाम लागेको बेला मात्र काम गर्ने भएपछि यस्तो समस्या देखिएको हो ।

सेवा लिन सेवाग्राही तआउछन तर चर्को घाम कुरेर बस्नुपर्छ । घाम नलागे यत्तिकै फर्कनुपर्ने अवस्था छ ।

सदरमुकाम गमगढीको पश्चिमी भेगमा १३ कोष टाढा सोरु गाउँपालिकामा ईलाका प्रशासन कार्यालय सोरु २०७३ मै स्थापना गरिएको भएतापनि संचालनमा भने २०७५ सालको कार्तिक मसान्तबाट मात्र संचालनमा आएको वडा अध्यक्ष नं ६ का वडा अध्यक्ष मन प्रसाद भट्टले बताए ।

वडा अध्यक्ष भट्टले केही समय यता इलाका प्रशासन कार्यालय मार्फत काम हुन थालेसँगै सोरु गाउँपालिकाका नागरिकहरुलाई नागरिता लिनका लागि सहजता भएको बताए ।

‘यो भन्दा अगाडिका दिन सदरमुकाम गमगढी बजारमा नागरिता नै लिनकालागि पैदल हिँडेर २ दिन लाग्थ्यो ८ देखि १० हजारसम्म खर्च पनि हुनेगरथ्यो तर अहिले पालिकामा नै इलका प्रशासन कार्यालय स्थापना भएपछि यो बाध्यता बाट मुक्त भएकाछन् ।’ उनले भने ।

सदरमुकाममा हुने काम पालिकामै भएपछि सजिलो त भयो तर विद्युतको समस्याले अर्को हैरानी थपिदिएको छ ।

‘कम क्षमताबाट वैकल्पिक उर्जा सौर्य शक्तिको विद्युत उत्पादनबाट कार्यालयको कामकाज घाम लागेको बेला ५ देखि १० मिनेटसम्म सेवाग्राही ले नागरिकता पाएकाछन् तर बादल लागेको दिनभने घन्टौंसम्म घामलाई पर्खिएर नागरिता प्रदान गर्ने गरिएको छ ‘ ईलाका प्रशासन कार्यालयका प्रमुख खडक बहादुर बस्नेतले भने।

सोलारको भर त्यसमाथि यसरी कम क्षमताको सोलार हुँदा घाम नलागेको दिन सेवाग्राही हरुले हैरानी खेप्नुपरेको छ । क्षमता बढाउनको लागि भएका पटकपटकका पहल यत्तिकै खेर गएकाछन् । ‘सेवाग्राहीको समस्यालाई निराकरण गर्नका लागि सम्बन्धित पालिकासँग सौर्य शक्ति को क्षमता बढाउनको लागि यही ०७७/७८ आब मा पटकपटक गरि १३ वटा चिठ्ठि लेखिसकेको छु’ प्रमुख
बस्नेतले भने, ‘घाम राम्रोसँग लागेको दिनमा दिनमा १० जना सम्मले नागरिकता लिनेगरेकाछन तर घाम नलागेको दिनमा भने मुस्किलले २ देखि ४ जनासम्मले सेवालिने गरेकाछन् ।’

गाउँपालिका का प्रमुख लोगजंग शाहीसँग कुरा गर्दा पालिकाको बैकल्पिक उर्जा सम्बन्धि कार्यक्रम भएकाले अबको २ महिना भित्र यो समस्या टर्ने बताए ।

उनले तत्कालको लागि वैकल्पिक उर्जा सोलारको विकल्प नभएको बताए । ‘ तत्कालको लागि सोलार नै हो जल विद्युतकोलागि लघु जलविद्युतकोलागि समन्वय भइरहेको छ, ३-४ वर्ष त पक्कै लाग्छ ।

सम्बन्धित् समाचार