संवैधानिक इजलासबाट अलग भए न्यायाधीश कार्की र भट्टराई

काठमाडौं – संवैधानिक इजलासबाट न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई इजलासबाट अलग भएका छन् ।

संसद विघटन सम्बन्धी रीटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको बताएका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि त्यसमा असहमति राख्दै उनीहरुले मंगलबारको इजलासमा नै आफूहरु यसमा असहमत भएको भन्दै इजलासमा बस्न अस्वीकार गरेका हुन् । उनीहरु अहिले इजलासबाट बाहिरिएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका थिए । मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका थिए ।

मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका थिए ।

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु केसी र श्रेष्ठले यसअघि नेकपाको आधिकारिकतासम्बन्धी मुद्दा सुनुवाइ गरेकाले अहिले त्यसैसँग जोडिएको विघटनको मुद्दा हेर्न नमिल्ने माग गर्दै आएका थिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै