Sunday, June 20, 2021
युनिकोड

शुभ शर्माका दुई लघुकथा

बाटो

“आफुहरु जस्ता छन् , उस्तै बनाउने भए मलाई पनि !  सधैँ  घाँस काट् ,  गोबर फाल्,  यो गर् ,  त्यो  गर् । 

हैन , बुहारीलाई त नोकर नै ठान्ने रहेछन् क्या हो  तिम्रा घरकाले ? ´´ समीरतिर खाउँला झैँ गरेर हेर्दै बम्किदै थिई  ,  सन्ध्या !  ऊ बिचरो कस्को कुरा सुनोस् ?

केही  समयपछि उसैको जित भयो । उनीहरू  शहर पसे , बाक्लो दाल खान ।

समीर भने  कहिले गाउँ कहिले शहर गरिरहन्थ्यो तर यसपाला  गाउँबाट ऊ फर्किएन ।

लकडाउन थप कडाइकासाथ लम्बियो । ऊ बिलखबन्दमा परी ।

गाउँ घर  सम्झेर एक्लै पिरोलिन थाली ।  मनभरि पेटभरि हुन्थ्यो , झन  घरबेटी दिदी आगोमा घ्यु  थप्थिन् । 

ऊ उकुस मुकुस हुन्थी । 

टिरिङ …..टिरिङ….. मोबाइल बज्यो । 

समीरको भनेर हतार हतार ढोका लगाई र फोन उठाई  , गहभरि अाँसु बोकेर ।

हेलो …. ऊ झस्किई । घरबाट सासूआमाको अावाज सुनेर ऊ भक्कानिन थाली ।

बोल्न सकिँन ।

सासूआमाले भनिन् , “कुनै उपाय गरेर गाउँ फर्क बुहारी ! ´´

सकिनसकी आँसु थामेर उसले भनी , “ पीपलको बोटले अक्सिजन दिन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि मैले त्यसलाई काटने दुस्साहस् गरेँ ,अब त्यसकै छाहारी खोज्न म कुन बाटोबाट आऊँ ,  आमा ´´ ?  


अभागी

एकदिन धनकी देवी लक्ष्मीले ध्यान दृष्टिले पृथ्वीलोकमा हेर्नुभयो।धेरै धनाढ्यहरुमा उहाँको नजर पर्यो।

कति भाग्यमानी यिनीहरु?कति सु:खले बसेका ?जता हेर्यो उतै राम्रो छ देवी खुसी हुनुभयो ।

पृथ्वीमा अभागी पनि त होलान् नि भन्ने लाग्यो र खोजीमा निस्किनुभयो ।  

एकजना धनी  कर्णेलको  ठूलो घर थियो ।

घरअगाडि गाडी , बगैँचा , द्वारमा द्वारपाले पनि तैनाथ थियो , सुरक्षाको लागि ! हेर्दै जाँदा  त्यसको पछाडि एउटा स्याउले झुपडी देख्नुभयो।

अोहो ,  यी झुपडीबासी  पो साह्रै  दु:खी र अभागी रहेछन्  भन्ने लाग्यो । 

त्यसपछि उहाँ त्यस झुपडीको अघिल्तिर गएर उभिनु भयो। शरीर नछोप्नेगरी च्यातिएका मैलो लुगा लगाएका स -साना बालबालिका  थिए । फोहरी हातमा निस्तो ढिँडोको डल्ला टोकिरहेका, गालासम्मै कट्कट्टिएका सिगानका धर्साहरु देखिन्थ्यो ।

निकै टिठ लाग्यो । 

सहयोग गर्नु पर्यो भन्ने ठानेर आफू आएको आभाष दिनु भयो।

कोही आएजस्तो लागेर  घरमूली  बाहिर निस्क्यो ।

देवीले आफू अाउनुको कारण  बेलिबिस्तार लगाएपछि  मुसुक्क हाँस्यो ।

कर्णेलको घरतिर हातले देखाउँदै भन्यो , “ऊ त्यो  ठूलो घरमा पो  छन् , अभागीहरू ´´ !

“म सौखिन भाग्यमानी खोज्न आएको होइन , ´´उहाँले भन्नुभयो ।

त्यसपछि  ऊ एकछिन चूप्प  लाग्यो ।

देवीले भन्नुभयो , “ माग बाबु , के माग्छौ , धन, दौलत , घर ? ´

म तिमीलाई भाग्यमानी देख्न चाहान्छु । 

ऊ मुसुक्क मुस्कायो र भन्यो , “म  धनको गरिब हुँ तर अभागी होइन । जुन घरमा भोजन छ ,  भोक छैन । बिछ्यौना छ ,  निन्द्रा छैन ।  धन छ , धर्म छैन ।  घरमा देवीदेवताका प्रतिमा छन् तर जिउँदा भगवान् आश्रममा छन्  भने तिनीहरुभन्दा अभागी  यो भुवनमा अरु को होला र  ? ´´ उसका कुरा सुनेर देवी प्रशन्न हुनुभयो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै