गृहपृष्ठ विचार/ ब्लग अस्थिरता र षड्यन्त्रको भुमरीमा देश

अस्थिरता र षड्यन्त्रको भुमरीमा देश

अहंकारी, क्रोधी र अरुको कुरा नसुन्ने, सिसाको फ्रेमभित्र बसेर राजपाठ चलाउने तानाशाही शासकको रुपमा अगाडि बढेका कारण देशमा यो भयावह अवस्थाको सिर्जना भएको हो ।

प्रकाशित मिति:

देशलाई अस्थिरताको भुमरीमा हालेर आफ्नो उद्धेश्य पुरा गर्ने विदेशीको डिजाइन अनुसार नै यी सबैै घटनाक्रम विकास भएका हुन् भन्ने आज सबैैले बुझिसकेका छन् । सत्तासिन ओली र सबैै प्रतिपक्षका मुल नेतृत्वको निर्देशक विदेशी तत्व एउटै हो भन्ने कुरा पनि घाम जस्तै छर्लङ्ग छ ।

मध्यरातमा संसद विघटन गरि आगामी कार्तिक २६ र मंसिर ३ गते चुनाव गर्ने घोषणा भयो । चुनाव प्रजातान्त्रिक निर्णय भए तापनी यो अप्रत्यासित वा केही समय पछि मात्र होला भन्ने थियो । गत पुष ५ गते विघटन भएको संसदलाई अदालतले उल्टाई पुनस्र्थापना गरिदियो । तर अहिले संविधानको विभिन्न धाराहरूको अभ्यास हँुदै अन्तमा संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्त हुन नसकेको भन्दै संविधानको धारा ७६(७) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरी चुनावको मिति ताक्ने काम गरिन् । यो संविधान सम्मत छ या छैन सर्वोच्चमा वहस सुरु भएको छ । संवैधानिक हो या असंवैधानिक अदालतले निर्णय गर्ला ।

संसद विघटन पश्चात प्रतिपक्ष दलका नेताहरू न्यायाधीश बनेर उफ्रिरहेका छन् । यो संविधानको हत्या हो । संविधान विपरित भयो । संविधानको बलात्कार भयो । संविधानमाथि डकैती हो आदि आदि…….भाषा प्रयोग गरेर प्रधानमन्त्री र राष्ट्रपतिलाई सक्दो गाली गरिरहेका छन् । हिजो जो संसद विघटन गर्थे आज उनै ठूलो स्वरमा चिच्याइरहेका छन् । उनीहरू छटपटिएका छन् । यो कदमले विपक्षीलाई पसिना आएको छ । मन पोलेकोे छ । रिंगटा चलेर रन्थनिएका छन् । अगाडि सबै अध्यारो भएर कालो बादलले छेके जस्तो अनुभूति गरिरहेका छन् । कोभिडको महामारीमा आन्दोलन गर्छौं भन्दै कुर्लिरहेका छन् । कोरोना संकटलाई विर्सिएर सत्ताका लागि बैठक र दौडधुपमा व्यस्त छन् ।

शेरबहादुर देउवा पुनःप्रधानमन्त्री हुने सपना सहित १४९ को हस्ताक्षर सहित प्रधानमन्त्री दाबी गर्न राष्ट्रपतिकोमा गएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको काउन्टरमा १५३ जना सासंदको समर्थन भएको पत्र बुझाए । देउवालाई मोहरा बनाएर ओलीलाई विस्थापित गरि देश लुटौंला भन्नेहरूको सपना समेत चकनाचुर भयो । राजनैतिक संस्कार र इनाम बेचेर आफ्नो दलीय मर्यादालाई तिलाञ्जली दिएर विपक्षीसँग घाँटी जोड्न पुगेका माधव नेपाल, उपेन्द्र यादव र वाबुराम भट्टराई जस्ता पात्रका कारण संसद विघटन भयो । सधै विदेशीको चाकरी र मलजलमा हुर्किएका नेपालमा बसेर विदेशीको खाएर भुढी भरेका यस्ता तमाम भुढे पात्र र प्रवृत्तिका कारण संसद विघटन हुन पुग्यो । जुन दुर्भाग्यपूर्ण हो ।

प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेर ठिक गरे भन्ने होइन । संसदको सबैैभन्दा ठूलो दलको नेताको हैसियतमा सबैैलाई मिलाएर लान नसक्नु, आफ्नै पार्टी भित्रका विद्रोहीलाई मिलाउन नसक्नु, देश नै कोरोनाको महामारीमा परेको बेला जनताका आवश्यकता र दुःखलाई सम्वोधन गर्न नसक्नु आदि उनका कमजोरीहरू हुन् । अहंकारी, क्रोधी र अरुको कुरा नसुन्ने, सिसाको फ्रेमभित्र बसेर राजपाठ चलाउने तानाशाही शासकको रुपमा अगाडि बढेका कारण देशमा यो भयावह अवस्थाको सिर्जना भएको हो । केपी ओली त गलत बाटोमा हिँडे त्यसलाई राष्ट्रपतिले सच्याउनु पर्नेमा उनी पनि देश र जनताप्रतिको जिम्मेवारी बोध नगरी आफु राष्ट्रको अभिभावक र संविधानको संरक्षक हुँ भन्ने कुरा समेत विर्सिएका कारण देश खतरातर्फ उन्मुख भयो ।

संसद विघटनमा प्रधानमन्त्री ओली र राष्ट्रपति मात्र दोषी छैनन् । विघटनका लागि वातावरण बनाई दिने सबैै राजनैतिक दल र त्यसका नेताहरूको भूमिका उत्तिकै छ । विपक्षी पार्टीहरूले देश र जनताप्रतिको आफ्नो जिम्मेवारी विर्सिएर सरकारलाई रचनात्मक सहयोग नगरी आलोचनामा मात्र गरिरह्यो । देशमा राजनैतिक गाईजात्रा देखाउने काममा प्रधानमन्त्री ओली, राष्ट्रपति भण्डारीका साथै सबैै दलका नेता सहभागी भए । जनता कोरोनाले मरिरहँदा वा मर्नलाई अन्तिम सास लिइरहँदा कुनै राजनैतिक दलले मलमपट्टी लाउने काम गरेनन् । बरु नाटक देखाएर नुनचुक छर्के । निरन्त्तर सत्ता प्राप्तिका लागि एक आपसमा लडिरहे । जनता बाक्क भएर निरिहताका साथ टुलुटुलु हेर्न बाध्य मात्र भए ।

देशलाई अस्थिरताको भुमरीमा हालेर आफ्नो उद्धेश्य पुरा गर्ने विदेशीको डिजाइन अनुसार नै यी सबैै घटनाक्रम विकास भएका हुन् भन्ने आज सबैैले बुझिसकेका छन् । सत्तासिन ओली र सबैै प्रतिपक्षका मुल नेतृत्वको निर्देशक विदेशी तत्व एउटै हो भन्ने कुरा पनि घाम जस्तै छर्लङ्ग छ । नेपालीलाई एक आपसमा लडाएर आफ्नो स्वार्थपूर्तिमा लाग्ने विदेशी तत्वहरूले जे चाहेको हो त्यो पुरा हुने बाटोमा देश गएको छ । नेपाललाई अस्थिरता र षड्यन्त्रको भुमरीमा फसाएर आफ्नो स्वार्थ पुरा गर्ने जुन परिपञ्च रचिएको छ त्यो देश र जनताका लागि घातक हुने अवस्थामा छ ।

गत २०७४ को चुनावमा जनताले जे म्यान्डेट दलहरूलाई दिएका थिए त्यसलाई विर्सिएर सबैै दल मिलेर नेपालीको सपनामाथी लात हान्ने काम भएको छ । कुनै पनि दलका नेता जनताप्रति इमान्दार छैनन् । कसैले पनि महामारीको यत्रो संकटमा जनतालाई हेरेको छैन । तराजुमा हाल्ने हो भने देश विगार्न कुनै राजनैतिक दल कम बेसी छैनन् । सबैै बराबर छन् । राजनैतिक संस्कार, इमान, प्रजातन्त्रको मुल्य मान्यता भन्दा बाहिर गएर जुन ताण्डव प्रहसन गरिरहेका छन् त्यसको परिणामतः देशलाई भड्खालामा हाल्ने निश्चित छ ।

सत्ता पक्षले त राज्यका सबैै शक्तिकेन्द्रको दुरुपयोग गरेर देशलाई संकटमा लग्यो । विपक्षीले सत्ता पक्षको त्यस्तो गलत कदमलाई रोक्न नसक्नु विपक्षीको पनि दोष हो । आखिर सबैै राजनैतिक दलहरू एउटै ड्याङका मुला न हुन् । आफुले पाए ठिक अरु भए बेठिक भन्ने मान्यताले गर्दा नै देश संकटको भुमरी तर्फ गएको हो । देशका प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी वा आफुलाई बौद्धिक वर्ग हांै भन्नेले राजनैतिक दलको पुच्छर भएर आफु आवद्ध दलको भजन गाउनाले पनि देश यो अवस्थामा पुगेको हो । देशमा राजनैतिक दलमात्र नभएर लम्पट र विवेकहिन कार्यकर्ता र जनताका कारण पनि नेताहरू कर्तव्य विमुख भए । मासु चिउरा र रक्सीमा जनताले आफ्नो अमुल्य भोट साटेकाले दलका नेताहरूलाई देश विगार्न उद्येलित गरेको हो ।

यति हुँदाहुँदै पनि फेरि पनि देश त बचाउनु छ । कालो बादलमा पनि चन्द्रमाको घेरा हुन्छ भने झै कुनै न कुनै ढंगले देशलाई एउटा ट्रयाकमा त ल्याउनु नै पर्छ । कोरोनाको प्रकोपकाबीच चुनाव होला नहोला भन्ने अन्योलता छ । चुनाव भै हालेमा देश विगार्ने तत्वलाई करेक्सन गर्ने अवस्था देखिदैन । फेरि चुनाव जितेर आउने यिनै भाडाका टट्टुहरू हुन । राजनैतिक बेइमानीका कारण नयाँ अनुहार आउन पनि सक्दैन र आउन पनि दिइदैन । यिनै केपी ओली, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त्त ठाकुर, राजेन्द्र महत्तो, माधव नेपाल, झलनाथ खनाल जस्ता डेट स्पायर्स वा यिनीहरूको फोहोरी स्कूलिङमा हुर्किएकाहरू नै नेतृत्वमा आउने हुन् । यस्ता प्रतिनिधिबाट देश बनाउने कुराको अब पनि परिकल्पना गर्नु दिवा सपना मात्र हुन्छ ।

अब यदि सर्बैोच्च अदालत मार्फत् प्रतिनिधि सभा पुर्नस्थापित भएन भने देश चुनावमा जान्छ । देश विकासको लागि चुनाव समाधान होइन तर तत्कालका लागि विकल्पहरूको विकल्प मात्र हो । देशको वर्तमान समस्याको तत्कालिन समाधान भनेको अहिलका सम्पूर्ण दलका माथिल्लो नेतृत्वको चुनाव मार्फत् विदाई नै हो । त्यसको विकल्पमा सक्षम र क्षमतावान युवालाई सत्तामा पु–याउनु हो । केपी ओली जस्ता सबैै दलका भाइरसजन्य पात्र र प्रवृत्तिलाई चुनावबाट हराएर सजाय दिने एक मात्र विकल्प नेपाली जनताका अगाडि छ ।


यद्यपी सास हुन्जेल आश गर्नु पर्छ भने झै नेपालीले हदैसम्म धैर्य धारण गरेकै हुन् । जनतालाई चुनावमा ठूला ठूला सपना बाढेर सत्ता प्राप्ती पश्चात अर्को चुनावसम्म नेताले विर्सिएका पनि हुन् । तर पनि नेपालीले सहेर बसे । अव नेपाली जनताले बढो होसियारीका साथ, मासु, रक्सी र पैसामा किनवेच नभई विवेकको प्रयोग गरी राजनैतिक दललाई होइन असल व्यक्तिलाई छनौट गर्ने विकल्प रोज्नुपर्छ । बदमास, धोकेवाज, भ्रष्ट, व्यभिचारी, दुराचारी, माफिया र दलाल नेतृत्वलाई पाखा लाउन सके मात्र नेपालीको कल्याण हुन सक्छ ।

तर विडम्बना वर्तमान परिदृश्य हेर्दा आउँदो चुनावबाट नै यति धेरै अपेक्षा गर्नु गलत पनि हुन सक्छ । तर अव जनताले बझनुपर्छ । नेपालको भू–बनौट, गरिबी, अशिक्षा जस्ता कुराहरूले गर्दा विदेशीले सधै क्रिडास्थल बनाए । त्यस्तो दासत्वबाट मुक्तिका लागि चुनावलाई माध्यम बनाउने वा क्रान्तिमा लाग्ने भन्ने विकल्प रोज्नुपर्छ । अब पनि देशमा नेताहरू नसच्चिने र जनताले सुदृढ र सक्षम नेतृत्वलाई छनौट नगर्ने हो भने सदाको लागि देश भड्खालामा जान्छ । र यसको भागिदार सबैै राजनैतिक दल बुद्धिजिवी भनौदा वर्ग समुदाय र नेपाली जनता हुनुपर्छ ।

सम्बन्धित् समाचार