Thursday, June 17, 2021
युनिकोड

खानेपानीमा ४३ अर्ब ५४ करोड

काठमाडौं–सरकारले खानेपानी तथा सरसफाईमा आगामी आबका लागि ४३ अर्ब ५४ करोड विनियोजन गरेको छ । वजेट वक्तव्यमा सबै नागरिकमा खानेपानीको पहुँच बिस्तार गर्दै गुणस्तरीय खानेपानी उपलब्ध गराइने उल्लेख छ ।

अहिले ९१ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । यस्तै, एक घर एक धाराको अवधारणा कार्यन्वयन गरिने, खानेपानीको दीगो व्यवस्थापनका लागि उपभोक्ता समितिको क्षमता बिस्तार गरिने बजेटमा उल्लेख छ ।

चालु आबमा मेलम्ची खोलाको पानी वितरण शुरु भएकामा सरकारले आगामी आबमा सोही आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट काठमाडौँ उपत्यकामा पानी ल्याउन आबश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । आगामी आबमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड बिनियोजन गरिएको छ ।

सरकारले आगामी आबमा काठमाडौँ उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमी नयाँ वितरण लाइन थप गरी एक लाख १० हजार घरधुरीमा पानी वितरण गरिनेछ । यस्तै दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइनेछ । सो कामका लागि सरकारले रु चार अर्ब ७९ करोड विनियोजन गरिएको छ ।

निर्माणाधीन नदी पथान्तरण आयोजनाबाट तराई–मधेस र भित्रि मधेशका ठूला शहरहरुमा खानेपानी आपूर्ति गर्ने गरी आयोजना विकास गरिने र ग्रामीण क्षेत्र लक्षित खानेपानी आयोजना निर्माण शुरु गर्दा लागतको एक प्रतिशत रकम उपभोक्ताले जम्मा गर्नुपर्ने व्यवस्था खारेज गरेको छ । उपभोक्ता समुहद्वारा सञ्चालित खानेपानी आयोजनामा विद्युत महसुल तथा डिमाण्ड शुल्क पूरै छुटको व्यवस्था गरेको छ । त्यस्तै, सरकारले आगामी आबमा बिभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न रु तीन अर्ब ६६ करोड बिनियोजन गरेको छ ।

सहलगानीमा निर्माणाधीन आयोजना सम्पन्न गर्न रु दुई अर्ब ६८ करोड छुट्टाइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहद्वारा सञ्चालित आयोजना प्रणाली नियमित मर्मतका लागि रु ३ अर्ब २९ करोड विनियोजन छ । काठमाडौँ उपत्यकामा र उपत्यका बाहिरका शहरमा ढल प्रशोधन केन्द्र निर्माण अघि बढाउन पनि बजेट वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै