दुःखले आर्जेको घरमा प्रकृतिको बज्र

तारानाथ आचार्य


बागलुङ- न्यून आय भएको परिवार । खेतपाती केही नभएकाले उनले परिवार भारी बोकेरै पाले । आठ÷दश वर्ष पहिलेसम्म कुश्मा बजारबाट बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारसम्म खाद्य सामग्री बोक्ने उनको दैनिकी थियो । त्यहीँ सामग्री बोकेर आउने ज्यालाले उनको परिवारमा चुल्हो बल्थ्यो । बागलुङ–कुश्मीशेरा सडक सञ्चालनमा आएसँगै उनको रोजगारी खोसियो ।

उनी हुन् जैमिनी नगरपालिका कुश्मीशेरा चित्रेली डाँडाका विष्णुप्रसाद शर्मा । शर्माले भारी बोकेर जोडेको पैसाले सानो घर बनाएका थिए । अहिले उनकोे रोजगारी मात्रै खोसिएको छैन, दुःखसुखले बनाएको सानो बास पनि प्राकृतिक विपत्का कारण खोसिने गरेको छ । चित्रेली डाँडामा दुःखले जोडेको घर २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले भत्कायो । गाउँका सबै घर सुरक्षित रहँदा विष्णुको घरको धुरी भने भुइँमा बजारियो । संयोग घरबाट भागेर उनकोे परिवारले ज्यान बचाएको थियो ।

भत्केको गाह्रोमा जस्तापाताले अँठ्याएर चार बर्खा विष्णुको चारजनाको परिवारले बिताए । भूकम्प पुनर्निर्माण प्राधिकरणको अनुदानमा उनले पुनः घर त बनाउनुभयो तर अब त्यही घर पनि विपत्तिले घेरिरहेको छ । चुल्होको डिलमा चुहिने पानी र बिस्तराको नजीकैबाट बग्ने भल तर्काएको छ महिना नपुग्दै उनकोे घरको जगमा पहिरो पुगेको छ । गत बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण घरको जग नै बगाउने गरी पहिरो गएको हो ।

शुक्रबार बिहान गएको पहिराका कारण घर जोखिममा परेको उनले बताए । “अब नयाँ ठाउँ खोजेर नयाँ घर बनाउने अवस्था छैन, बलेनीबाट भत्केर बारीको पाटामा पुगेको छ, घरको जग नै जोखिममा रह्यो”, शर्माले भने, “अन्यत्र घर बनाउने उपाय छैन, भएको घर बस्ने अवस्थाको रहेन ।” वर्षौंपछि बनेको घर पहिराको जोखिममा परेपछि शर्माको परिवार बिचल्लीमा परेको छ ।

प्रकृतिले समेत पटकपटक आफूमाथि अन्याय गरेको शर्मा बताउँछन् । पानी परिरहेका बेला घरमा बस्नै नहुने गरी जग भत्किएकाले शर्मा परिवार समास्यामा छ । उनकोे घरछेउमा गएको पहिरो हेरेर फर्किएका नगर प्रमुख इन्द्रराज पौडेलले सहयोग गर्ने आश्वासन दिएकाछन् । “जेठमा नै आएको पहिराले घर जोखिममा परेपछि सग्लो बर्खा के होला”, पहिरो हेरेर फर्किएपछि स्थानीयवासी विष्णु आचार्यले भने, “तत्काल पहिरो नियन्त्रण वा परिवारलाई अन्यत्र सार्नुपर्ने देखियो ।”

जैमिनीका घर जोखिममा

निरन्तरको वर्षासँगै आएको पहिराले बागलुङको जैमिनी–१० राङखानीमा दुई घर जोखिममा परेका छन् । घरमुनि र घरमाथिबाट खसेको पहिराका कारण राङखानीको सिर्जना टोलका अशोक विक र रविलाल विकको घर जोखिममा परेका हुन् ।

यसै वर्ष निर्माण भएको अशोकको नयाँ घरको जग नजीकैबाट पहिरो खसेको छ । अशोकको घरमुनि रहेको रविलालको घर पुरिने अवस्थामा छ । निरन्तर वर्षा भइरहेकाले पहिरो नरोकिएको राङखानीका बासिन्दा मित्र थापाले बताए । दुवै घरका परिवार छिमेकीको घरमा बसेका छन् । स्थानीय युवाको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको थापाले जानकारी दिए।

सहस्रधारामा पहिरो

पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर बगिरहेको पहिराका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । वर्षासँगै पहिरो बगिरहेकाले बेलाबेलामा सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । गत वर्षको बर्खायाममा खसेको पहिरो अहिले वर्षासँगै बढेको छ । सडकमा जम्मा भएको लेदो र पानीका कारण अत्यावश्यक कामका लागि बागलुङ–पोखरा सडकमा गुड्ने सवारी समस्यामा पर्ने गरेका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । गए राति खसेको पहिरो प्रहरी पन्छाइएको थियो । अहिले पनि पहिरो खस्नेक्रम रोकिएको छैन ।

कोरोना महामारीका कारण निषेधाज्ञा भएकाले सडकमा अत्यावश्यक बाहेकका सवारी गुडेका छैनन् । एम्बुलेन्स, अक्सिजन सिलिण्डर बोक्ने सवारीलगायत सवारी पहिरामा रोकिने गरेका छन् । “हिजो नै अक्सिजनको जोहो गरेकाले अहिलेसम्म समस्या छैन तर जोखिम बढेको छ”, धौलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “अहिले पोखरा पुगेका सिलिण्डर फर्किने बेला सडक सहज भए हुन्थ्यो ।” यो सडक रोकिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा अक्सिजन ढुवानीमा समस्या हुन्छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै