Sunday, June 20, 2021
युनिकोड

संसद छलेर अध्यादेश मार्फत कानुन बनाउने ओली संसदीय व्यवस्था र लोकतन्त्र विरोधी : नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संसदीय अभ्यासका जान नचाहने संसदीय व्यवस्था विरोधी भएको बताएका छन् । उनले संसदीय मर्यादा विर्सिएर अध्यादेश मार्फत देश चलाउन खोज्ने संसदीय पद्धतिको पक्षपाती हुननसक्ने बताए । उनले कोभिडको महामारी बढेको र सरकारले अहिले सार्वजनिक गरेको तथ्यांकको तेब्बर कोभिडको संक्रमण रहेको बताए ।
रेडियो एनआरएनसँग उनले गरेको कुराकानीको संपादित अंश यहाँ राखेका छौं :

प्रधानमन्त्री ज्यूले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आग्रह गर्नुभयो तपाईहरु तयार हुनुहुन्छ ?


प्रधामन्त्रीले संवोधन गरिरँदा पोखराको एक अस्पतालमा ६ जनाले ज्यान गुमाए । प्रधानमन्त्रीले देशमा अक्सिजन, भेन्टिलेटर, आइसियू सबै उपलब्ध छ भन्नुहुन्छ । तर वास्तविकता त्यो छैन । राज्यले प्रस्तुत गरेको तथ्यांक सही छैन । अहिले भनिएको तथ्यांक भन्दा देशका दुरदराजमा मान्छेको मृत्यु भएको छ, राज्य त्यहाँ पुगेको छैन । भनिएको भन्दा तेब्बर कोभिडको कारण मृत्यु भएको छ । संक्रमितको संख्या पनि यो भन्दा धेरै छ । तर उहाँ बालुवाटारमा बसेर राजनीति गरेर बस्नुभएको छ ।

उहाँले तीन वर्षमा धेरै गरें भन्नुभएको छ त ?

उहाँले तीन वर्षका उहाँले सिग्नेचर गरेर ल्याएको प्रोजेक्ट छ ? पुराना विरासतमा प्राप्त प्रोजेक्टलाई देखाएर मैले यत्रो काम गरें भनेर देखाउन मिल्छ ? इतिहासमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हो केपी ओली उहाँले दुई तिहाईको नेतृत्व गर्न पाउनुभएको थियो गर्न सक्नुभयो ? उहाँले नेतृत्व गरेको नेकपा चिराचिरा भयो त्यसको जिम्मेवारी उहाँले लिनुपर्दैन ? देश अस्थिरताको बाटोमा गयो त्यसको जिम्मेवारी लिनुपर्दैन ? अरुलाई दोष थोपर्न पाइन्छ ? नेकपा भित्रको झगडाको हामीलाई के को सरोकार ?

सरोकार छ त, तपाईहरुले प्रधानमन्त्री ओलीको विकल्पमा शेर बहादुर देउवालाई अगाडि सार्नुभएको हैन ?

यो आजको कुरा हो । केपी शर्मा ओलीले नैतिकताको कुरा गर्ने ? स्थिरताको कुरा गर्ने ? लोकतन्त्र, संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको कुरा गर्ने ? उहाँ प्रधानमन्त्री हुँदा संसद छलेर अध्यादेश मार्फत कति कानुन बनाइयो । लोकतन्त्रमा संसद छल्न मिल्छ, लोकतन्त्रमा ।

त्यो त बाध्यता भयो, तपाईहरुको कारणले अध्यादेश आयो ?

कसरी बाध्यता भयो । हाम्रो कारण कसरी हुन्छ । दुई तिहाइको प्रधानमन्त्री हुँदा उहाँ अध्यादेशबाट काम चलाउनुहुन्छ । नियम कानुन अध्यादेशबाट बनाउनुहुन्छ, त्यो लोकतन्त्र हो ? त्यो संसदीय अभ्यास हो ? संसद विघटन गरेर त्यो विषय अदालतमा गयो । अदालतले संसद पुर्नवहाली गर्यो । त्यसपछि पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहने त्यो पनि नैतिकता हो ? लोकतन्त्रका यस्तो गर्न मिल्छ ? संवैधानिक नियुक्ति असंवैधानिक तरिकाले गर्न मिल्छ ?

तपाईहरुले पनि सहकार्य गरेर भागवण्डा गर्नुहुन्छ ?

हामी स्वीकार्छौं, कांग्रेसका कारण भएका त्रुटिपूर्ण कार्य केही होलान्, हामीले त्यस विरुद्ध आवाज उठाएका पनि छौं । कांग्रेस जसरी प्रतिपक्षमा प्रस्तुत हुनुपर्ने थियो त्यसरी प्रस्तुत भएन होला । धेरै भूमिका त सरकार र प्रधानमन्त्रीको हुन्छ होला नि त । एउटा प्रधानमन्त्री जसले विपक्षी दलको नेतालाई संवैधानिक परिषद्का राख्ने व्यवस्थापलाई परिवर्तन गर्छ । उसँग सहकार्य भएको हुन्छ ।

प्रधानमन्त्रीले आउनुस् सहकार्य गरौं , निर्वाचनमा जाउँ भन्नुभएको छ नि ?

त्यसो भए उहाँ सरकार बाहिर बसेर चुनाव गरौं न । उहाँ सरकारमा बसेर धाँधली गर्न खोज्नुभएको छ । केपी ओलीसँग सहकार्य गरेर राष्ट्रिय सरकार बन्न सक्दैन । विकल्पमा छलफल गरौं । उहाँको दम्भी, अहंकारी, आत्मकेन्द्रीत र अलोकतान्त्रिक कार्यशैली हेर्यौं । उहाँले यो तीन वर्षका कानुन मान्नुभयो कि ? लोकतन्त्रका आधारभुत सिद्धान्तलाई मान्नुभयो कि ? अध्यादेशबाट देश चलाउन खोज्ने व्यक्तिले निष्पक्ष निर्वाचन गराउन सक्छ ?

तर तपाईहरुले हटाउन सक्नुभएन त ?

उहाँले सम्बोधनमा फेरि झुट बोल्नुभएको छ । संविधानमा धारा ७६ को उपधारा ४ अन्तरगत विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि हामीले धारा ७६ (५) बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गर्यौं भनिएको छ । यो संविधानको प्रक्रिया हो प्रधानमन्त्रीले सिफारिस गर्न मिल्छ ? उहाँ धारा ७६(३) बमोजिमको प्रधानमन्त्री हो , धारा ७६(४) बमोजिम विश्वासको मत लिनुपर्नेका राष्ट्रपतिलाई यो गर भनेर भन्न मिल्छ ? उहाँको सिफरिस नै गलत थियो । यो राष्ट्रपतिले गर्ने काम उहाँले गर्नुनै त्रुटिपूर्ण छ । दलहरू मिलेर सरकार बनाउने प्रक्रियाको लागि तीन दिनको समय दिने, दलभित्रका व्यक्ति मिलेर बनाउने प्रक्रियाको लागि २१ घण्टाको समय दिने ?

स्वतन्त्र व्यक्ति सांसद, प्रधानमन्त्री बन्नसक्छ ?


सक्छ, सक्दैन भन्दा पनि अहिले व्यवस्था गरेको संवैधानिक व्यवस्थामा कसैले बहुमत सदस्य सहितको दावी गर्ने र त्यो यर्थाथ भए प्रधानमन्त्री बन्नसक्छ । दिउँसो विश्वासको मत पाउन सक्दैन भन्ने, साँझ बहुमत देखाउँदै जाने ? उहाँका पक्षमा भएका जसपाका सांसकदको निर्णय जसपाको हुने, अर्कोको नहुने ? १४९ को हस्ताक्षर सहितको शेर बहादुर देउवा र जवरजस्ती दावी गरिएको १५३ कसरी एउटै हुनसक्छ । राष्ट्रपतिले जुन जेन्युन त्यो हेर्नुपर्छ कि पर्दैन ।

तर प्रधानमन्त्रीले त राष्ट्रपतिले सही गर्नुभएको छ विरोध नगर्नुस् भन्नुहुन्छ नि त ?

उहाँ त आफ्नो एस म्यानलाई त भन्नुहुन्छ नि त तर मैले त विरोध गर्नुपर्यो नि त । राष्ट्रपति केपी ओलीको हो ? राष्ट्रपतिले मर्यादा राख्नुपर्दैन ? राष्ट्रपतिको विरोध राष्ट्रपति संस्थाको मर्यादा राख्नको लागि गरेको हो । कानुन अनुसार काम गर्न नसक्ने, संविधानको संरक्षण नगरेर एउटा व्यक्तिको पिछलग्गु हुने त्यस्तो राष्ट्रपतिको किन विरोध नगर्ने ? उहाँ प्रधानमन्त्री केपी ओलीको सहयोगी मात्र हुनुभएको छ । प्रधानमन्त्रीले जे चाह्यो त्यही गर्नुभएको छ , न त गणतन्त्र न त आफ्नो मर्यादा नै राख्नुभएका छ । त्यसको लागि गणतन्त्र ल्याइएको हो । गणतन्त्र ल्याउन राष्ट्रपति भन्दा बढी लडेको व्यक्ति हो नि । गणतन्त्र उहाँहरुको कारण अलोकप्रिय र संकटमा पर्यो । व्यवस्था संकटमा पर्यो । गणतन्त्रका विरोधी पोजिसनमा पुग्दा यो अवस्था आयो ।

राष्ट्रपतिसँग असन्तुष्ट हुनुहुन्छ, हटाउन सक्नुहुन्छ , बहुमत छ ?

उहाँलाई जतिसक्दो छिटो विदा गर्नुपर्छ । अफ्ठुयारो यही बहुमत र अल्पमतको भयो । नैतिकताको भएन । आज कोभिडको कारण मुलुक आक्रान्त छ । समय पुगेको भएपनि चुनाव पछाडि सार्नुपर्ने अवस्था थियो तर अहिले समय नपुगेरै अर्बौं खर्चिएर चुनाव गराउन खोजिदैछ ।

त्यसो भए तपाईहरु चुनावमा जानुहुन्न ?


केपी शर्मा ओली सरकार बाहिर आउनुस् अनि चुनाव गरौं, उहाँ त चुनाव गराउनै चाहनुहुन्न । कोभिडको महामारीकाबीच जनताको हालत यस्तो छ । कुर्सीमा बसेर मिति तोकिदिएर मात्र चुनाव हुन्छ ? सुरक्षा मापदण्डको ख्याल गर्नुपर्दैन ? तेस्रो भेरियन्ट आउँदैछ त्यसको बारेमा ख्याल गर्नुपर्दैन ? आज भन्दा ८ महिना अगाडि बेलायत र ४ महिना अगाडि भारतमा अक्सिजन अभावको स्थिति थियो । त्यसलाई हेरेर प्रधानमन्त्रीले किन योजना बनाउन नसक्नु भएको ? संसद सरकार बनाउन सक्ने स्थितिमा छ । संविधानले संसदले सरकार बनाउन सक्ने अवस्थासम्म संसद विघटन हुन सक्दैन भन्ने व्यवस्था गरेको छ । विकल्प हुँदहुँदै चुनावमा किन जाने ?

तर तपाईहरुले वैकल्पिक सरकारको लागि प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्नुभएन नि ?

संसद पुर्नस्थापना भएपछि धेरै ढिलो गरि प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो । हामीले कोभिड नियन्त्रणमा सरकारको भूमिका प्रभाकारी होस् भनेर त्यो बाटोमा लागेनौं । उहाँले लकडाउन गरेर विश्वासका मत लिन थाल्नुभयो । कोभिड महामारीलाई सरकार बलियो बनाउने अस्त्रका रुपमा लिनुभयो । राष्ट्रपतिको आडका उहाँ विश्वासको मत नहुँदा नहुँदै पनि आफै सरकारमा रहिरहनुभयो ।

संसद पुर्नस्थापना हुनसक्छ ?


संसद पुर्नस्थापना हुन्छ त्यसका केही आधार छन् । पहिलो प्रतिनिधि सभाले सरकार बनाउने विकल्प दिएसम्म संसद विघटन हुन सक्दैन । कसैको जिम्मा लिएर अदालतको प्रांगणमा शशरिर उपस्थित भएर १४६ जनाले सरकार बनाउन तयार छौं भनेकाछन् । दास्रो प्रक्रियागत हिसावले राष्ट्रपतिले जसरी निर्णय गर्नुभयो, त्यो सबैकुरामा त्रुटि छ । धारा ७६(३) बमोजिम बनेको प्रधानमन्त्री हुँदहुँदै राष्ट्रपतिले अर्को प्रधानमन्त्री खोज्ने प्रक्रिया कसरी अगाडि बढाउन सक्नुहुन्छ ?

अदालतले के गर्ला ?

अदालतले गर्ने प्रक्रिया, बहसमा जाने प्रक्रिया अन्तरगत सबै भइरहेकाछन् । न्याय मरेको छैन । साच्चै अदालतले न्याय दिन्छ भन्ने कुरामा विश्वास गर्ने हो भने प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै