Thursday, June 17, 2021
युनिकोड

कोभिड नियन्त्रणकोलागि खोप व्यवस्थापन जरुरी

  • डा.रविन्द्र पाण्डेय
    जनस्वास्थ्य विद्

देशमा अक्सिजनको उत्पादन वृद्धि, चुहावट नियन्त्रण तथा विदेशबाट अक्सिजनको सहयोग बढेसँगै अहिले सास फेर्ने आशा जागृत भएको छ । अस्पतालमा देखिएको संक्रमितको चाप केहि घटेर अहिले बेड पाउने अवस्थामा पुगेको छ । आइसीयु र भेन्टिलेटरमा एउटै बिरामी लामो समय बस्नुपर्दा र थप गम्भीर बिरामीको लागि आइसीयु / भेन्टिलेटरको आवश्यकता पर्ने भएकोले अझै पनि आइसीयु र भेन्टिलेटरको अपर्याप्तता छ । यो बीचमा केहि सहयोगी देश र संस्थाबाट भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको सहयोग आएको छ ।

महामारी नियन्त्रण गर्ने प्रमुख उपाय खोप नै हो । खोपको २ मात्रा पुरा गरेका व्यक्तिहरुमा संक्रमण हुने अवस्था कम छ भने संक्रमण भएपनि गम्भीर हुने र मृत्यु हुने नगण्य छ , एक मात्रा खोप लगाएका व्यक्तिहरुको पनि गम्भीर हुने तथा मृत्यु हुने संख्या एकदम कम छ ।

पहिलो लहरमा जेष्ठ नागरिक तथा दीर्घबिरामीको मृत्यु धेरै थियो भने यसपटक सक्रिय उमेरका व्यक्तिमा मृत्युदर अनपेक्षित रुपमा धेरै देखिएको छ । यसमा प्रमुख भूमिका खोपको छ भने द्वितीय भूमिका घरबाहिर ननिस्किने बर्गको सुरक्षा देखिएको छ ।

यो लहर र सम्भावित तेस्रो लहरलाई निस्तेज गर्ने प्रमुख अस्त्र भनेको खोप नै हो । बाटाघाटा तथा भवन अर्को साल बनाएपनि हुन्छ । यो पटकको सम्पूर्ण शक्ति खोपमा लाग्नुपर्ने अवस्था छ ्र लकडाउन महामारी नियन्त्रणलाई ‘ पज ‘ गर्नको लागि प्रयोग भएपनि यो समाधान पक्कै हैन , पहिलो समाधान खोप नै हो, दोस्रो समाधान जनस्वास्थ्यका मापदण्ड पालना हो भने तेस्रो समाधान स्वस्थ जीवनशैली नै हो ।

खोप उत्पादक देश थोरै भएको, ती देशले खोप आफ्नो देश बाहिर लैजाने अनुमति नदिएको, खोपको माग संसारभर भएको तथा धनी देशहरुले आवश्यकताभन्दा धेरै खोप ‘ होल्ड ‘ गरेको कारण खोप पाउन कठिन भएको छ । सरकारले आफ्ना सम्पूर्ण कुटनैतिक तथा व्यवसायिक संयन्त्र प्रयोग गरेर खोप ल्याउनु जति महत्वपूर्ण छ, प्राप्त भएको खोपको न्यायोचित वितरण त्यतिकै महत्वपूर्ण छ ्र खोपको उद्देश्य मृत्युदर घटाउने भएको हुँदा एक ÷ एक खोप जोखिम वर्ग तथा जनसम्पर्कका वर्गलाई दिने हो भने मृत्युदर घटाउन सकिन्छ ।

सबैभन्दा चिन्ता पहिलोपटक कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकको छ ्र कोभिशिल्ड खोपको दोस्रो मात्रा ८ देखि १२ हप्तामा लगाउनुपर्नेमा हाल १२ देखि १६ हप्तामा लगाउन मिल्ने भारतले जनाएको छ । बैज्ञानिक पुष्टि भएको अबधिभित्र कोभिशिल्ड खोप ल्याउन भारतबाट अप्ठ्यारो भएपनि बेलायत तथा कोरियाबाट ल्याउने प्रयास अथक रुपमा गर्नु जरुरी छ । सरकारले रुस तथा अमेरिकाको जोन्सन एन जोन्सनको खोप ल्याउनको लागि थालेको कुटनैतिक पहल निष्कर्षमा पुर्याउनु जरुरी छ । जोन्सनको सिंगल डोज भ्याक्सिन ल्याउन सकेमा त्यो सजिलो र प्रभावकारी हुनेछ ।

निजि क्षेत्रले चीनको भेरोसेल तथा रुसको सपुत्निक भी खोप ल्याउन सफल भएमा किन्न सक्नेले निजिले ल्याएको खोप तथा आम जनसमुदायले सरकारले ल्याएको खोप ( निशुल्क ) लगाउने बहु उपाय अबलम्बन गरेमा छिटो महामारी नियन्त्रण हुन्छ । बिदेशमा रहेका नेपाली, जसको राजनैतिक तथा ब्यबसायिक पहुँच छ ; उहाँहरुले मातृभूमिको लागि खोप दिलाउन अथक प्रयास गर्नु अर्को बिकल्प हो । अमेरिका लगायत देशमा त्यहाँको सिनेटमा वा सत्तारुढ पार्टीको उच्च स्थानमा भएका नेपालीहरुले पक्कै पनि यो पहल गरिरहनु भएको छ । हाम्रा विदेशमा भएका राजदुत र यहाँ भएका विदेशी राजदुत दुबैलाई क्रियाशील बनाएर परिणाम ल्याउन सकिन्छ ।

हिजो मात्र चिनियाँ राष्ट्रपतिसँग उच्चस्तरबाट पहल हुँदा १० लाख मात्रा भेरोसिल खोप सहयोगको घोषणा हुनुले यो प्रकारको पहल हरेक खोप निर्माता देशसँग गर्नु लाभदायक हुनेछ ।

निषेधाज्ञामा दैनिक काम गरेर खाने वर्गलाई ठोस राहत दिन स्थानीय निकाय क्रियाशील हुनु जरुरी छ । हामीले रोग र भोकको दुवै युद्धलाई सँगसँगै लैजानु आवश्यक छ । यस्तो चरम मानवीय संकटको घडीमा राजनीतिलाई ‘ पज ‘ गरेर राहत, खोप, अक्सिजन, औषधि उपचार आदिमा हामी सबै समर्पित हुन एक निमेष ढिलो गर्नु हुँदैन ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै