Sunday, June 20, 2021
युनिकोड

सुन्दर खोटाङ र भुलभुले दुधकुण्ड मन्दिर

खोटाङमुलुकभर कुनै न कुन खालका धार्मिक र सांस्कृतिक महत्व बोकेका सम्पदा छन् । त्यस्तै विविधता सहितको जिल्ला हो –खोटाङ

नेपाल– सुन्दर प्रकृतिले हराभरा अनि स्वच्छ हावापनी भएको हाम्रो देश हो । भुगोलमा सानो भनिएको देशको प्राकृतिक सुन्दरता सहितको विविधता हाम्रो आफ्नै पहिचान हो । प्राकृतिकसँगै धार्मिक र सांस्कृतिक सम्पदा हाम्रो गहना हुन् जसले नेपालको पहिचानलाई थप अग्लो बनाएको छ । मुलुकभर कुनै न कुन खालका धार्मिक र सांस्कृतिक महत्व बोकेका सम्पदा छन् । त्यस्तै विविधता सहितको जिल्ला हो –खोटाङ ।

खोटाङ विभिन्न धार्मिकस्थल मठ मन्दिरहरूले सजिएको जिल्ला हो । जस अन्तर्गत पुूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव मन्दिर रहेको छ । यो मन्दिर निकै पुरानो, चर्चित र यो जिल्लाको ठूलो मन्दिरको रुपमा परिचित छ । यहाँ विभिन्न ठाउँ, विभिन्न देश तथा विदेशबाट यो मन्दिरमा दर्शन गर्न भक्तजनको बाह्रैमास भीड लाग्ने गर्दछ । जिल्लामा बाराहा पोखरी ,साप्सुधाप, दिक्तेलमा रहेकोे कालिका भगवती, दिखुवा, लैकुहेमगङ्गा, विजयखर्क स्थित पन्चकन्या देवी जस्ता मठ मन्दिर र नदीनाला रहेका छन ।

यस्तै हलेसी महादेव मन्दिर पछि अर्को सुन्दर र मनोरम स्थान हो, भुलभुले दुधकुण्ड समेत खोटाङ जिल्लामा अवस्थित छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत साविक को वडा न ५ र हालको वडा न ६ नेर्पामा पर्ने भुलभुले दुधकुण्ड अवस्थित छ । यो स्थान मध्यपहाडी लोकमार्ग जोडिएको छ । यहाँ पुग्न काठमाडौंबाट २५७ किलोमिटर दुरी पार गरेपछि खोटाङको सदरमुकाम दिक्तेल बजार पुगिन्छ । उक्त सदरमुकाम देखि १५ किलोमिटर दुरी पार गरेर पूर्वतर्फ जाँदा भुलभुले दुधकुण्ड पुगिन्छ ।

यस स्थानको आसपासमा खड्का ,राई,गुरुङ,भुजेल, आचार्य,रिजाल, पराजुली,गेलाल,दमाई,कामी,सार्की जस्ता जातजातिको बसोबास रहेको छ । विशेषगरी यो भुलभुले दुधकुण्डको संरक्षकत्व गर्ने कुरामा राई जातिको भूमिका रहेको पाइन्छ । उक्त मन्दिर भोजपुर, धरान,धनकुटा,जाने मुख्य सडकको माथिल्लो साइटमा छ । जुन मन्दिरमा भएका देवी देवताहरू सत्ययुगमा उत्पत्ति भएको विश्वास गरिन्छ । यस दुधकुण्डकमा भुलुक भुलुक गर्दै सेतो दुध जस्तो पानी निस्कने गरेकोले यसको नाम भुलभुले दुधकुण्ड रहन गएको मान्यता छ । त्यहाँका स्थानीय बासिन्दाले उक्त कुरा थाहा पाएर त्यस ठाँउको नाम भुलभुले राखिएको हो ।

उक्त ठाँउमा देवी देवताहरू भन्ने मान्यताका साथ त्यहाँका स्थानीयले नियमित रुपमा चार वर्षसम्म पाठी पूजा गरे । तर पूजा गरेपछि उल्टो हावाहुरी, आँधीबेहरी चल्न थाल्यो । अन्त्यमा स्थानीयले पत्ता लगाए, ‘देवीलाई भोग नचल्दो रहेछभनेर ।’ त्यस पछि स्थानीयले बलिको सट्टा भेटी, अक्षता, फूल चढाउन थाले । जव बलिको साटो स्थानीयले भेटी, अक्षता, फूल दिएर घुमेर खोजेर निश्चय गर्दै जादा तीन वटा ढोका भेटिएको विश्वास गरिन्छ ।

यो मन्दिरको प्रवेशमा गेटपार गरेर उकालो निस्केपछि बायाँ साइटमा सात वटा धाराहरूबाट छ्ङ छ्ङ पानी झरिरहेको पाइन्छ । त्यसै माथी तिर जाँदा त्यहाँ गणेश,शिवजी बुढानिलकण्ठ भगवानहरू रहेका छन । यहाँ पोखरी पनि छ, उक्त पोखरीमा माछा धेरै पलिराखेको पाइन्छ । उक्त माछाहरू कसैले समातेर लैजाने रखाने गरे निकै ठूलो अनिष्ट हुने जनविश्वास रहेको छ ।

उक्त ठाँउमा जल शिकारी र सातकन्या देवी पनि छन् । यो मन्दिरमा पहिले राती र दिनमा मेला लाग्ने गरेको थियो। मेला अव्यवस्थित भएसँगै रातीमा मेला लगाउन छाडिएको छ । यस मन्दिरमा विशेषत मेला लाग्ने समय कार्तिकको धान्यपूर्णीमामा ,बालाचतुर्दशी,रामनवमीमा ठूलो मेला लाग्ने गर्दछ। त्यस्तै ऋषितर्पणी पूर्णिमामा धामीझाँक्रीहरू जाने र नुहाउने गर्दछन् ।

यस मन्दिरमा अन्यत्रबाट पनि पर्यटक र भक्तजनहरु पुजाआजाकालागि आउँछन् । उक्त मन्दिरमा पूजा आजा गर्नाले मनोकांक्षा (मनले चिताएको ) पुरा हुने जनविश्वास रहेको छ । पहिलेको तुलनामा अहिले आएर निकै सुन्दर, चर्चित र व्यवस्थित बनाइएको छ । उक्त ठाँउलाई पर्यटकीय क्षेत्र बनाउनको लागि दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले उक्त मन्दिरलाई सुन्दर ,आकर्षित र पर्यटकीय स्थल बनाउनको लागि निकै पहल गरेको छ ।

त्यस्तै अहिले उक्त ठाँउमा बाह्रै महिना विभिन्न ठाँउबाट पर्यटक हेर्न र भक्तजनहरु पूजाआजा , दर्शन गर्न आउँछन् । यस्तै यो मन्दिरको दर्शन सकेर दायाँतर्फ १५ मिनेट खुट्किला उक्लेर जाँदा रुवालुङ झरना वा भुलभुले झरना पुगिन्छ । उक्त झरना ठूलो पहाड र वनकोबीच भागमा रहेको छ । यो रुवालुङ झरनासँगै छेउमा वनझाँक्री गुफा रहेको छ। यो गुफा ३/४ वर्ष पहिले सम्म यो वनझाँक्री गुफा पनि गुमनाम अवस्थामा थियोे ।

यो रुवालुङ झरना करिव ५० मिटर अग्लो उचाईबाट बगेर झर्ने झरना हो । उक्त झरनासँगको वनझाँक्री गुफामा २ जना धामी बसेको जस्तै देखिन्छ ।यो गुफामा धेरै चमेराहरू रहेका छन् । त्यहाँ गुफामा गएर पूजा गर्नाले , भेटीपाती चढाएमा मनले चितएको कुरा पुरा हुने जनविश्वास रहि आएको छ । यो रुवालुङ झरना र गुफा पनि निकै सुन्दर र मनोरम छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै