Wednesday, August 4, 2021

खर्पनमा बितेको चन्द्रमानको आधा जुनी

काठमाडौं – ६४ वर्षको बुढ्यौली लागेको शरिर, तराजु जस्तै गरि दुवैतिर झुन्ड्याइका खर्पन । हतार हतार कतै टाढै जान लागेको बस छुट्छ जस्तै गरि हरेक दिन बानेश्वर आसपासका चोक चोकमा पुग्छन्, चन्द्रमान सिंह ।

चन्द्रमानले खर्पनमा साग बोकेर चोक चहार्न थालेको ठ्याक्कै ५० वर्ष पुगेछ। “१३-१४ वर्षको उमेर देखिनै तरकारी बेच्न थालेको हुँ, अरु काम गरिएन जाने गरेको यही नै हो” बानेश्वरमा सुस्ताएर खर्पनमा साग मिलाउँदै गरेका उनले जयदेशसँग भने, ” मलाई एकै ठाउँ भेट्न कहाँ पाउनुहुन्छ, अब थापागाउँ जान्छु ।”

एकै छिनको बसाइमा एउटा चुरोट सकाए । चिया मगाए, पिए । “दाजु फोटो खिँचौ ?” प्रतिकृया दिएनन्, हाउभाउले भन्दैथियो, खिँच्दा आपत्ति छैन । “सप्पै आफ्नै बारीको हो कि, अरूबाट पनि ल्याउनु हुन्छ ?” पसलमा बेच्न राखेको तरकारी जस्तै झण्डै दर्जन थरी सागपात सजाउँदै गरेका उनले भने, ” यत्रो थरी कहाँ आफ्नै मात्र हुनु, एक रोपनी आफ्नो जग्गा छ, अरू दुई रोपनी जग्गा भाडामा लिएको छु ।”

त्योभन्दा थप उनले छिमेकका अरु किसानबाट पनि लिन्छन् । ठिमीका बासिन्दा उनी हरेक बिहान झिस्मिसेमा भरिलो खर्पन सहित घर छाड्छन् । प्राय: १० देखि ११ बजे सम्ममा उनी घर पुग्छन् । त्यतिबेलासम्म सबै तरकारी बिक्री भैसक्छ त ? उनी भन्छन् ,” प्राय सकिन्छ, फिर्ता लैजाने जति आफ्नै घाटा हो, साँझ बिक्री हुन्न भए पनि मूल्य राम्रो पाइन्न ।”

५० वर्ष देखि खर्पनकै व्यापार । उनीसँगसँगै र उनी पछि व्यापार सुरू गर्नेले धेरै फड्को मारेको उनले देखेकाछन् । तर आफू खर्पन भन्दा माथि पुगेनन् । ” यत्तिकै चलेको छ, मैले अरू बाटो सोंचिन पनि ” उनले भने । घर व्यवहार चलेको छ , छोराछोरी हुर्काए, उनीहरूको दायित्व बोक्नु छैन ।

छोराछोरी के गर्नेछन् त ? ” एउटी छोरी हो, पोखरामा छे, खै के गर्छे । छोरा यही तीनकुनेमा साग बेच्छ ” आफ्नो प्रगतीबाट खासै सन्तुष्ट नदेखिने उनले भने, ” घरमा बुढी र म छौं, जीवन चलेको छ ।”

Leave a Reply

ताजा खबर

यो पनि पढौं