साढे दुई लाख दर्शनार्थीले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्क लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका छन् ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिएका छन् । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था रहेको थियो ।

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

नागेश्वरमा पनि भक्तजनको भीड

यसैगरी काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

बिहानदेखि अहिलेसम्म करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग राजयमाझीले राससलाई बताएका छन् ।

बिहान १० बजेपछि नागेश्वर महादेव मन्दिरमा पनि धेरै भक्तजन दर्शनका लागि लाइनमा बसेका छन् । विसं १८८१ मा सरदार वाक्सिङ मन्दिर स्थापना भएको हो ।

महाशिवरात्रिका अवसरमा नागेश्वर महादेव मन्दिरमा पनि विशेष पूजासहित चारै प्रहर पूजा आराधना गरिन्छ । नागहरूले मानेको र पूजा आराधना गरेकाले नागेश्वर नाम रहेको उनले सुनाएका छन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले