गृहपृष्ठ विचार/ ब्लग केपी ओली संविधान र लोकतन्त्रका लागि हत्यारा हुन्, सहकार्य हुन सक्दैनः नेतृ भुसाल

केपी ओली संविधान र लोकतन्त्रका लागि हत्यारा हुन्, सहकार्य हुन सक्दैनः नेतृ भुसाल

‘केपी ओली संविधानका लागि, लोकतन्त्रका लागि हत्यारा हुन् । एउटा कालो कलंकको रुपमा सिंगो कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका कलंककै रुपमा स्थापित भयो ।’

प्रकाशित मिति:

गएको पुसमा ५ मा मन्त्रि परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरिन् । विघटन पछि विघटनलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट पर्यो । त्यसमा करिब दुई महिना चलेको बहसले अन्नत गत फागुन ११ मा प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेको छ ।

विघटन विरुद्ध सबैभन्दा बढी नेकपाकै एउटा समूह प्रचण्ड–नेपाल समूह लागि पर्यो । यो समूहले सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै संविधान र संविधानवादको रक्षा भएको बताउँदै आएको छ ।

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल सर्वोच्चको निर्णयसँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको र प्रधानमन्त्री ओलीले आफै राजिनामा नदिए प्रक्रियाबाट हटाउने तर सहयात्रा संभव नभएको बताउँछिन् ।

उनी भन्छिन्, ‘केपी ओली संविधानका लागि, लोकतन्त्रका लागि हत्यारा हुन् । एउटा कालो कलंकको रुपमा सिंगो कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका कलंककै रुपमा स्थापित भयो ।’
नेतृ भुसालसँग जयदेशले प्रतिनिधि सभाको विघटन, त्यस पछिको घटनाक्रम र अबको संभावनाका विषयमा कुराकानी गरेका छौं ।

पुस ५ गते पछाडिको घटनाक्रमलाई कसरी हेर्नुहुन्छ ?

हामीले एकदमै अप्रत्यासित र प्रतिगामी र प्रतिक्रान्तीकारी घटनाका रुपमा परिभाषित गर्यौं । जनताले सात दशक देखि लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसकोे संविधान माथि नै ‘कु’ गर्ने असंवैधानिक तरिकाले संसदको विघटन गर्नुलाई हामीले सुरु देखि नै विरोध गरेका थियौं ।

यो संविधानको रक्षा र संविधानवादको रक्षाको कुरा थियो । लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्म निरपेक्षताको जुन उपलब्धी हो, त्यसको रक्षाको विषय थियो । मुलुकभर यसको विघटनको विरुद्ध सबै एकजुट थिए ।

राजनैतीक दल, नागरिक समाज, बुद्धिजीवी, सैविधानविद्, कानुन व्यावसायी यसको विरुद्धमा खुलेर लाग्ने काम भयो । त्यसमा पनि सर्वोच्चका पूर्व प्रधानन्याधीश समेत यसको विरुद्धमा जाँदा देशै यसको विरुद्धमा थियो ।

अन्त्यमा सर्वोच्चले यसको विरुद्धमा ऐतिहासिक फैसला गरेको छ ।
फैसला शक्ति सन्तुलनको सिद्धानतमा आधारित बनेको सर्वोच्च अदालतले संविधानमा व्यवस्था भए अनुरुपको व्याख्या गरेको छ । यसले थप प्रस्टता सहित संसदको पुर्नस्र्थापना गरेर ऐतिहासिक निर्णय गरिदिएको छ ।

जनताका जीवनसँग साटेका, शहीदका बलिदानसँग साटेको संविधान, संविधानवाद रक्षा गर्न संसदको पुर्नस्र्थापना भएको छ । यसले प्रतिगामी र प्रतिक्रान्तिकारी पराजित भएका छन् ।
सर्वोच्चको फैसलाले संविधान र संसद पुस ५ गते भन्दा अगाडिको अवस्थामा फर्काएको छ तर,

पार्टीलाई त पुरानै अवस्थामा फर्काउन सकेन, विभाजनमा पुर्यायो ?

यो पनि पढ्नुहोस..  ‘जुन सपनाका लागि लडेका थियौँ, त्यो पूरा भइसकेको छैन’

अथवा यो यसो पनि हो । पार्टी विभाजन गरेर राष्ट्रको संविधान नै समाप्त पार्ने पार्टीको विधान नै समाप्त पार्ने कदम चालिएको थियो । संविधानको रक्षा भएको छ । पार्टीको विधमान उलंघन गरेर केपी ओलीले सानो गुट लिएर जानुभएको छ । मुलभुत रुपमा पार्टी छ तर बस्तुगत रुपमा सानो भएपनि केपी ओलीको गुट चोइटिएर गएको छ, पार्टी विभाजन भएको छ ।

कानुनत निर्वाचन आयोगले केही मिलाउन बाँकी रहे पनि पार्टी विभाजन भएको हो । तर यसले संविधानको रक्षा भएको छ, व्यवस्थाको रक्षा भएको छ । हामी त्यसमा पनि खुसी छौं ।

प्रतिनिधि सभा फर्किएर पुस ५ मा पुग्यो भने, पार्टी फर्किन सक्ने संभावना छ कि छैन ?

त्यो संभावना रहेन । केपी ओलीले देशको संविधान च्यातचुत पारेर, प्रतिनिधि सभाको हत्या गरेर जुन ढंगले पार्टी विभाजन गरे, त्यसको पदलामा हामीले उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएका छौं ।

त्यसमा सहभागी भएका महासचिवलाई हामीले महासचिवबाट हटाएका छौं । यस अर्थ केपी ओली बिनाको केपी ओलीका भ्रममा, दवावमा, प्रलोभनमा जतिसुकै साथीहरु जानुभएको छ, हामी उहाँहरुलाई मुल पार्टीमा फर्किन र पार्टीको जुन पोजिसनमा हुनुहुन्थ्यो त्यसमा बसेर काम गर्न अनुरोध गर्छौं ।

केपी शर्मा ओली र विष्णु पौडेललाई कारवाही गरेको भनिएको छ, उहाँहरुलाई पार्टीमा स्थान दिन सक्ने अवस्था कति छ ?

त्यो संभव छैन । केपी ओली संविधानका लागि, लोकतन्त्रका लागि हत्यारा हुन् । एउटा कालो कलंकको रुपमा सिंगो कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका कलंककै रुपमा स्थापित भयो । हिजो उनलाई बयलगाडाको सिद्धान्तकारको रुपमा भनिन्थ्यो, साँच्चै रहेछन् भन्ने अहिले पुष्टि भएको छ ।

त्यसो भए समायोजन हुन चाहे केपी ओली बाहेकको मात्र संभावना हो ?

हो, उहाँ बाहेक अरु आउनुभयो भने जो जो जुन जिम्मेवारीका हुनुहुन्थ्यो उहाँहरुको स्थान सुरक्षित छ ।

आन्दोलनका क्रममा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध ठूलो आक्रोश थियो । अब संसद बैठकमा कुन रुपमा प्रस्तुत हुनुहुन्छ ?

उनलाई हामीले पार्टी र दलबाट निकालेको मान्छे हो । कानुनत हामीले संसद बसिसके पछि दलको नेताबाट पनि निकाल्छौं । नैतिकताको आधारमा उनले अगाडि नै राजिनामा दिनुपथ्र्यो । त्यो नदिएर लाचारीपन र हाँस्यास्पद तर्क गरिरहेकाछन् । त्यसो गर्दा यो प्रतिगमनका मुख्य अभियुक्त केपी ओली हुन् ।

संविधानको रक्षक भनेर संविधानले व्यवस्था गरेको राष्ट्रपतिले आफ्नो गरिमामय भूमिका पुरा गर्न सक्नुभएन भनेर अदालतले पुष्टि गर्यो, उहाँले सही काम गर्न सक्नुभएन । अहिले हाम्रो विषयवस्तु भनेको प्रधानमन्त्री नै हो। पार्टीबाट हटाइ सकिएको छ, अब केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउँछौं ।

यो पनि पढ्नुहोस..  भ्रमजन्य सूचनाको आतंक र आत्मबल

त्यस पछि प्रतिगमनका विरुद्धमा लागेका जति पनि राजनैतिक दल हुनुहुन्छ, हिँजो पनि परिवर्तनका निम्ति लागेका शक्तिहरुसँग मिलेर गठबन्धनको सरकार बनाउँछौं ।

त्यसो भए अबको संसद बैठकको पहिलो काम नै सरकार परिवर्तन हुने भयो हैन त ?

पहिले उनले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्यो त्यो राम्रो । नभए संसद बैठकको प्रक्रियागत रुपमा उनलाई विदा गरिन्छ ।

अब सरकारले गठनका लागि कस्तो समिकरण देख्न पाइन्छ होला ?

हाम्रो मात्र संख्याले सरकार बन्न सक्दैन । अर्को एजेण्डा मिल्ने सबै सरकारमा बसौं भन्ने हाम्रो विचार हो । जसले प्रतिगमनका विरुद्ध लडे, त्यो नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जो भए पनि संख्यात्मक रुपले पुग्यो भनेर मात्र हैन कि, प्राविधिक रुपमा राजनैतिक हिसावले पनि हाम िएक ठाउँमा हुनुपर्छ ।

अब विस्तारै स्थानीय, प्रदेश हुँदै केन्द्रको निर्वाचनहरु ह्न्छन्, त्यसको लागि पनि राष्ट्रिय सहमतिको जरुरी भएको छ । त्यसको सुरुवात स्वरुप हिजो मात्रै नेपाली कांग्रेससँग छलफल भयो । उहाँहरुले बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । जनता समाजवादीसँग पनि छलफल अगाडि बढाएका छौं। छलफलबाट जो बन्छ, त्यसमा हाम्रो सहमति छ, अहिले संविधान र व्यवस्था बँचेको छ, यो भन्दा ठूलो कुरा हामीलाई केही हुन सक्दैन ।

जनताले पनि यहाँहरुले जस्तै संविधान र संसद बँच्यो भनेर रमाउने कि आफ्ना सपना गुमे भनेर बुझ्ने हो ?

हामीले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख समाज निर्माण गर्ने संविधानमा लेखेको कुरा हो । त्यसैले जनताका जीवनसँग सरोकार राख्ने अर्थ सामाजिक विषयहरू, रोजगारका विषयहरू, सुशासन, शिक्षा, स्वास्थ्यका कुरा अर्थ राजनीतिलाई समुन्नत बनाउने कुरालाई त साझा ढंगले अगाडि बढाउँछौं ।

हामीले घोषणा पत्रमा राखेका धेरै कुरा र जनतासँग गरेका संकल्पहरु थिए तर केपी ओलीले जनतासँग जोडिएको राष्ट्रिय पूँजीको विकास गरेर समाजवादमा जाने हैन कि उल्टो दलाल पूँजीपतिको निम्ति काम गरे । यसबीचमा नीतिगत भ्रष्टाचार, भ्रष्टाचार र कमिसनले गन्हाएको जस्तो स्थिति बन्यो । त्यसैले हामीले जनता प्रति समर्पित भएर जनताले अनुभूती गर्ने गरि साझा सहमति गरेर अगाडि जान्छौं ।

सत्ता समिकिरणबाट जाँदा तपाईका घोषणापत्रका कुरा त कसरी कार्यान्वयन होलान् र ?

पर्दैन, किनकी हामीले साझा ढंगले संविधान लेखेका हौं । जनता प्रति समर्पित भएर जाने कुरामा कसैको पनि मदभेद हुन्न । हामी साझा नीति तथा कार्यक्रम बनाउँछौं र त्यसका आधारमा जनताको सेवा गर्छौं ।

यो पनि पढ्नुहोस..  उग्र ! ओली

पार्टी विभाजन पछि तल्लो तहसम्म भएको संगठनलाई एक बनाएर लैजानको लागि के के रणनीति छन् ?

केपी ओली बाहेकका जति पनि भ्रममा दवाव, विविध ढंगले जानुभएको छ, उहाँहरुलाई संस्थागत पार्टीमा फर्किनुस् भन्छौ र सेल कमिटी देखि केन्द्रीय सदस्य, उच्च तहमा बसेका अथवा जननिर्वाचित साथिहरूलाई संस्थागत पार्टीमा मिलाएर लैजान्छौं । आउनुस् भनेर अपिल गर्छौं । उहाँहरूलाई कुनै आग्रह पूर्वाग्रह बिना जुन पोजिसनमा हुनुहुन्छ, त्यही पोजिसनमा भूमिका निर्वाह गर्न सुनिश्चितता गर्छौं ।

अहिले तपाईहरुको समूहमा पनि अझै ५०–५० प्रतिशतको भागवण्डा सुरु भएको छ । यसले तपाइले भनेको एकतालाई त कसरी सम्बोधन गर्ला र ?

हैन, यो एकिकरण नभएको जुन ठाउँ छ, हिजो एकिकरण गर्दा ६०–४० भन्ने थियो । अहिले रिक्त भएका ठाउँमा समेटिने गरि ५०–५० गरौं भनेको हो । अगाडि देखि भएकालाई कसैले हटाउने कुरा हुन्न नभएका ठाउँमा सहमति अनुसार अगाडि बढ्ने हो। माथिबाट तल झार्ने हैन, तलबाट माथि लैजाने कुरा हो ।

परिवर्तित परिस्थितिमा अब मुलुक कसरी अगाडि बढ्ला ?

प्रतिगमन र प्रतिक्रान्तीलाई पराजित गर्न नेपाली जनता सक्षम भएका छन् । यसमा भूमिका खेल्ने सर्वोच्च अदालत देखि नागरिक समाज लगायत आम नेपाली जनताले जसरी एकै पटक जनमत प्रस्तुत गरे र अदालतले बडो जिम्मेवारी पूर्वक साँच्चै संविधानको व्याख्याता हो भन्ने भूमिका निर्वाह गरेको छ ।

न्यायपालिका प्रति जनतको थप भरोसा पैदा भएको छ । यो ज्यादै सुखद् कुरा हो । अब फेरि अगाडि बढ्ने कुरा जनताका इच्छा, आकांक्षा, राष्ट्र र जनताको हितलाई अगाडि राखेर जान चुनौती छ । त्यो चुनौतीलाई अहिले अवसरले संम्बोधन गर्नुपर्छ । मुलुकलाई समाजवाद तर्फ लैजाने कुराको सुभारम्भ गर्नुपर्छ । नेपालस् समाजवादको आफ्नै मोडल हुन्छ, नयाँ मोडल खडा गरेर अगाडि बढ्ने कुरा हुन्छ ।

त्यसको कार्यदिशा स्पष्ट गर्ने कुरा र अर्को कार्यान्वयनबाट त्यसका आधार तयार पार्ने कुराको भूमिका हामीसँग छ । त्यो भूमिका सबैले पूरा गर्नुपर्छ । प्रतिगमन र प्रतिक्रान्तीमा जसरी जनता एक भए अब बन्ने नयाँ परिस्थितिमा पनि जनता एक भएर अगाडि बढ्नुपर्छ । नागरिकले सबै वाचडगको भूमिका खेल्नुपर्छ ।

सम्बन्धित् समाचार