गृहपृष्ठ साहित्य मैले बिर्सन नसकेको त्यो दिन !

मैले बिर्सन नसकेको त्यो दिन !

प्रकाशित मिति:

बैंसमा फक्रिएकी सुन्दरी, रूप यौवनले भरिपूर्ण उनी गुलाफको रातो फूलजस्तै चटक्क परेकी अप्सरा जस्ती मेरो नजिकको कुर्सीमा लसक्क बसिन् । वरिपरि सबैलाई चियाइन् तर उनले खोजेको कोही पनि चिनेका कर्मचारी देखिनन् । त्यसैले एकछिन मौन बसिन् ।

अफिसका सहयोगी सानुदाइ हातमा चेक भएको लग बुक बोकेर आए । उनलाई देखेर उनी खुसी भएर बोलिन् । सानुदाइ मलाई चिन्नुभयो ?

सानुदाइ एकै छिन मौन सोचेर भने, ‘तिमी सल्लेरीको नानी होइन, हजुरबासँग पेन्सन लिन आउने ?’
‘हो नि त सानुदाइले याद गर्नुभएको रहेछ । खुसी लाग्यो,’ उनको स्वरमा मिठास थियो, आदर थियो, माया थियो, ‘अनि सानुदाइ, मैले हाम्रा पुराना सरहरू कोही पनि देखिनँ । कति रमाइला दाजुहरू हुनुहुन्थ्यो ।’

सानुदाइले भने, ‘सबै सरुवा भएर गए नि, म पनि त काठमाडौं सरुवा भएर गएँ, फेरि यहीँ आएको हँु । यी उहाँ सरहरू पनि त रमाइलो हुनुहुन्छ । साँच्चै, तिमीले यो अफिसमा कति काम सिक्यौ है ! सानी फुच्ची हजुरबासँग पेन्सन लिन आउँदा हामीलाई सघाउँथ्यौ, अनि यहीँबाट इन्टर्नसिप ग¥यौ । तिमीले अहिले जागिर खायौ त ?’

सानुदाइको उत्तरमा उनले भनिन्, ‘जागिर त पाएको हो, तर मलाई किन हो किन यही बैंकमा नै जागिर खान मन छ । खोइ यहाँ कर्मचारी माग्दैनन् र !’

सानुदाइले मलाई हेर्दै बोले, ‘खै सरहरूलाई कस्तो गाह्रो छ । फुर्सद नै छैन, कर्मचारी कम भएर बिहानदेखि बेलुकीसम्म काम गर्नुपर्छ । अफिस टाइम मात्र होइन, शनिबार पनि आएर काम गर्नुहुन्छ । खै कर्मचारी थप पनि पठाएको होइन ।’

मैले आफ्नो काम रोकेर पिलिक्क उनलाई हेरेँ । कामको कति लोड रहेछ भन्ने पुष्टि भयो । त्यति राम्री सुन्दरी मेरो छेउमा आएर बस्दा समेत मैले उनलाई ध्यान दिन सकिरहेको छैन । मैले यताउति हेर्दै भनेँ, ‘ए बैनी पनि हाम्रो बैंकमा चिनाजानी हो ?’ उनले मलाई नमस्ते गरिन् ।

उनले नजिकको पुरानो लेजरको पाना पल्टाएर उनको आफ्नो अक्षरहरू देखाइन् । उनले काम गरेको पक्का भयो । चिया खाने समय भएको हुँदा चिया आइपुग्यो । मैले एक कप चिया बहिनीको अगाडि राखिदिएँ । चिया पिउँदै उनले भनिन्, ‘हेर्नुस् न दाइ मलाई पनि यो बैंकमा काम गर्ने ठूलो इच्छा छ, के गर्नुपर्छ ?’

उनको कुरा सुनेर, साथीहरू चियाको गिलास समाउँदै उनकै वरिपरि झुम्मिसकेका थिए । हो बैनीले ठिक मान्छेलाई सोध्यौ, उहाँ नै हो हाम्रो कर्मचारीको हाकिम । हामीलाई पनि काम गाह्रो भएको छ । बैनीले काम गर्ने भए हुन्छ । काम गर्दै गर्नुस् । उहाँले तपाईंलाई भर्ना गर्ने काम मिलाउँदै गर्नुहुन्छ । अर्को साथीले सुटुक्क भन्यो, सके जागिर मिलाउनु, नसके बिहे गर्नु ! सबै साथीहरूको हाँसो छुट्यो । उनी पनि लजाइन् ।

यो पनि पढ्नुहोस..  नासो लिन नफर्किएको ‘अपरिचित पाहुना’

हाम्रो अफिसमा उनी सहयोगी भइन् । आएको बेला जुनसुकै फाँटमा सहयोग गर्थिन् । सबैंको चिनजान कर्मचारीले जसरी नै उनी अफिसमा मिलेर बस्छिन् । ( जागिर खाने आशामा ) मैले उनलाई पटकपटक भनेको छु, जागिर ख्वाउने अधिकार हामीसँग हुँदैन । मेरो यसमा केही हात हुँदैन ।

बरु जागिरको भर्ना खुल्यो भने म खबर र सहयोग गर्न सक्छु । उनी चित्त बुझाउँछिन् । अनि भन्छिन्, तपाईंहरूलाई गाह्रो छ । म पनि फुर्सद भएका बेलामा सहयोग त गर्नु सक्छु नि, अनुभव हुँदै जाने हो । यसरी उनी हाम्रो अफिससँग नजिकिइन् । मेरो काममा विशेष सहयोग गर्थिन् ।

कहिले महिनाभर कामविशेष भनेर आउँदिनन् । कहिले दुई–चार दिन आएको बेला धेरैजसो मसँग नै हुन्थिन् । मलाई व्यक्तिगत रूपमा पनि सहयोग गर्छु भन्थिन् । कोठामा खाना पनि पकाइदिन्छु भन्थिन् । लुगा पनि धोइदिन्छु भन्थिन् । म त डेरामा बसेर होटेलमा भात खाने मान्छे, उनको कुरा सुनेर लाग्थ्यो साँचै उनले मलाई मन पराएकै हो कि, बिहे गर्ने सोच पो हो कि ? मनमा अनेकौँ कुराहरू खेल्थ्यो ।

जनयुद्धको समय जिल्लाको सरकारी अफिसको साथै बैंकहरूमा ठूलो डर थियो । माओवादीहरूले कुन बेला सदरमुकाम छेडने हो ! सधैँ कहीँ न कहीँ भिडन्त, एम्बुस थापेर सेना, प्रहरी मारे । कहिले बैंक लुटियो । कहिले माओवादीलाई सेनाले घेरा हाले । आदि–इत्यादि कुराले त्राहिमाम् थियो । कुन बेला कहाँ के हुने हो ? बैंकमा सुरक्षा दिन पनि सकेका थिएनन् । जेनतेन दिउँसोको अफिस चलाएर दिनहुँ बेलुका नगद मौज्याद ब्यारेकमा सुरक्षितका लागि पु¥याउनुपर्दथ्यो । दिनभर कहाँ के भयो ? भोलि के हुने हो ? भनेर सबैमा चिन्ता हुन्थ्यो । घर छाडेर जागिर खानेहरूको परिवार झनै तनाव !

डरले जागिर छाड्ने कुरा पनि भएन । सबैले भन्थे, अब यो बैंक पनि कहिले लुट्ने हो ? हामीहरूले भन्ने गथ्र्यौ । बैंक लुटेर हामी कर्मचारी र बैंकलाई केही फरक पर्दैन । सम्पत्ति र नगद मौज्यादको सबै बिमा हुन्छ । हाम्रो बैंकले जनताका लागि वर्षको लाखौँ घाटा व्यहोरेर यो दुर्गम जिल्लामा जनताका लागि बैंकिङ सेवा दिएको छ ।

आखिर जनताहरूको सेवाको बैंक लुट्नु भनेको जनताहरू लुट्नुसरह हो । हामीहरूको छलफलमा उनी जिज्ञासु बनेर हाम्रो कुरा सुनी रहन्छिन् । हिजै मात्र चाडपर्व मनाउन घर गएको स्थानीय नेतालाई मौका पारेर वा सुराकीबाट थाहा पाएर हो । बेलुकी सबै दाजुभाइ सँगै बसेका थिए रे, त्यसमध्ये एक भाइलाई कुरा गर्नुप¥यो भनेर माओवादीहरूले डाके, उसले आफूलाई कारबाही गर्ने डर भएर तिमीहरूले जे भने पनि मान्छु र आफूसँग भएको सबै नगद र सुनको सिक्री बाला सहयोग गर्ने बताए तर अब तिम्रो कुनै सहयोग हामीलाई नचाहिने भन्दै भौतिक कारबाही गरे ।

यो पनि पढ्नुहोस..  कथा संग्रह ‘ऐना’ असमीया भाषामा

माओवादी महिलाले उनको गर्दन एकैपटक छिनाले टाउको बिनाको शरीर धेरै परसम्म भागेको कुराले जिल्लाभरिका आम मानिसहरू माओवादीदेखि त्रसित भयभीत छन् । हामी कर्मचारीहरू सकेसम्म बाहिर निस्कँदैनौ । बरु अफिस सकिनासाथ हाम्रो अफिसको पाहुना कोठामा जम्मा भएर म्यारिज खेल्थ्यौँ । एक क्षण ढिला भयो कि दर्शक भएर पालो कुर्नुपथ्र्यो । खेल्ने पाँचजना हेर्ने तीन गुना !

शुक्रबारको दिन थियो । सबैजना काम सकेर पाहुना कोठामा तास खेल्न जम्मा भइसकेको थियो । सबैजना मलाई डाक्दै छ । किनकि तीन बुक तासमा मेरो भागको पत्तीहरू मेरो खल्तीमा छ, मबिना त्यहाँको कार्यक्रम चल्दैन । त्यही बेला गार्डदाइले बोलाए, सर, रुपा नानी आउनुभएको छ । के गर्नेमाथि पठाइदिऊँ कि फिर्ता पठाइदिऊँ ? धेरै समय भएको थियो । रुपा हाम्रो अफिसमा नआएको मलाई पनि देखौँ र भेटौँभेटौँ लाग्यो । एकै छिन त हो नि भनेर माथि डाकेँ । उनको मलाई भेट्ने बहाना मात्र थियो । कुरा गर्ने खासै केही थिएन । अफिस बन्द भइसकेको छ । आज उनी निकै राम्री देखिएको थियो । आज हामी दुई मात्र एकान्तमा कसरी कुरा गरेर बस्ने ! मैले आफू हतार भएको हुँदा काम विशेष सोधेँ ! खासै काम नभएर हामी अलमलिनु मात्र थियो । उनी ट्वाइलेट जान लागेकी, कस्तो फोहोर रहेछ भनेर गुनासो गरिन् । हाम्रो माथिको सफा ट्वाइलेटमा जान भनेँ । उनी ट्वाइलेट गएर बाथरुमबाट निस्किएर हातमुख धोएर कपाल भिजाएर मेरो छेउमा आइपुगिन् । उनको भिजेको कपालले मलाई स्पर्श गर्दा म रोमाञ्चित भएँ । समय सदुपयोग गर्दै मौका पारेर मैले उनलाई आफूतिर तानेँ, अनि उनको ओठमा गढेर किस गरेँ । उनी चटपटाउँदै थिइन् म शिथिल भएर छाडिदिएँ !

उनको रूपको रौनकता देखाइन् ! उनले चिच्याउँदै तैँले मलाई चिनेको छस् ? म माओवादी जिल्ला कमान्डर चित्रा हँु ! मेरो होसहवास उड्यो ! राक्षसको टाउकोको माला लगाएको कालरात्रिको भगवती मेरो सामु उभिएको जस्तो लाग्यो ! किनकि अस्ति मात्र गाउँमा विशाल शरीर भएको नेताको घाँटी छिनाल्ने त्यही महिला कमान्डर चित्रा थिइन् । म होस गुमाएको मान्छे, मुढाझैँ टोलाएर बसेँ । कमान्डर गर्जनले उनले मलाई थर्काउँदै बोलिन् । मेरो कोठाको खाटमुनि बोरामा चार करोड पैसा छ । तेरो बैंकको जागिर मलाई चाहिएको छैन । हामीले चाहेको भए जुनसुकै बेला यो बैंक लुट्न सक्थ्यौँ । हाम्रै जनताको बैंक, जनताहरूले दुःख पाउँछौ भनेर नलुटेको बुझिस् । म उनको कुरा न सुन्न सक्थेँ, न बुझ्न सक्थेँ । खलखली पसिनाले मेरो जिउ भिज्न थाल्यो । अब के गर्ने हुन्, उनीसँग हतियार पनि अवश्य थियो । म अर्धबेहोसीमा टोलाइरहेँ ।

यो पनि पढ्नुहोस..  देशभित्र देश कहाँनेर छ ?

उनले एउटा सर्त राखिन्, ल भयो यो कुरा कसैलाई नभन्नू ! हामी बिस्तारै तल झर्यौ । भ¥याङ झर्दै गर्दा मेरो काँधमा उनले हात राखिन् । मैले बिस्तारै उनको हात मेरो काँधबाट हटाएँ । उनी अघि बढेर मेरो सामुबाट आफ्ना दुवै हात मेरा दुवै काँधमा राखेर बेस्सरी हल्लाइन् । झुकेको शिरले मैले उनलाई पुलुक्क हेरेँ । ल डराउनुपर्दैन, केही नभएको जस्तै गरेर हिँड् । मैले आफूलाई समाल्ने कोसिस गरेँ । उनी आफ्नो बाटो लागिन् ।

पाहुना कोठामा पुगेर खल्तीमा भएको तास भुइँमा राखिदिएँ । साथीहरू तयार थिए । ल बस्ने होइन ? मैले भनेँ– भो म खेल्दिनँ ।

हत्त न पत्त अर्को साथी मेरो बदलामा खेल्न बस्यो । म आज दर्शक ! मेरो दिमाग चक्कर ! अघिको घटनाले खेलिरहेको तासको पत्ताहरू मैले केही देखिनँ । म बिस्तारै त्यहाँबाट निस्किएर नजिकको ब्यारेकमा पुगें । म आएको कुरा कर्साहेबलाई जाहेर भयो । हामी पुग्यौँ कि ब्यारेकभित्र पनि म्यारिज चल्दथ्यो । मलाई साह्रै माया गर्ने कर्साहेब मलाई हर समय ब्यारेकमा डाकिरहनुहुन्थ्यो । मैले ब्यारेकभित्र आफूलाई सुरक्षित महसुस गरेँ । भोलि शनिबार घर जाने अनि आइतबार जसरी हुन्छ हेड अफिसबाट सरुवा मिलाउने मैले निर्णय गरेँ । ब्यारेकभित्र मेसो मिलाएर तास खेलियो । भित्रजस्तै पीडा भए पनि मैले तासमा २२ सय रुपैयाँ जितेँ । त्यही ब्यारेकमा खाना खाएर बेलुकी रमन जाँदा मलाई कोठासम्म पुर्याइदिए । म ओछ्यानमा पल्टिएँ, भोलि बिहानीको आशामा ।

भोलिपल्ट बिहानको ७ बजेको थियो । म बरन्डामा थिएँ । सात–आठजना जवानका साथ कर्साहेब आउँदै हुनुहुन्छ । कर्साहेबले मलाई देखेर बोलाउनुभयो । लौ हिँड् केटा ! मलाई अँगालोमा बेरेर एउटा कार्यक्रममा जानु छ भनेर साथ लानु भयो । सबै अफिसका प्रमुखहरू, पार्टी नेता र गन्यमान्य र सर्वसाधारण सामेल भएको राष्ट्रिय दिवसको कार्यक्रममा मलाई पनि अतिथिको आसनमा पु¥याउनुभयो । कर्साहेबले मलाई अँगालोबाट छुटाउनुभएन । कार्यक्रम सुरु भयो तर उद्घोषक भने माइकबाट बोल्नै सकिनन् । माइक बिग्रेको पो हो कि सबैजना माइकतिर ध्यान दिएका छन् । मलाई जुन अवस्था देखेर उद्घोषक रुपाको सातो पुत्लो उडेछ । न बोल्न सक्नु न मलाई हेर्न सक्नु ! बिस्तारै उनले आफूलाई सन्चो नभएको बहानामा कार्यक्रम छोडेर मबाट टाढा भइन् !

सम्बन्धित् समाचार