गृहपृष्ठ साहित्य देशभित्र देश कहाँनेर छ ?

देशभित्र देश कहाँनेर छ ?

प्रकाशित मिति:

देशभित्र देश कहाँनेर छ ?
अक्सर एउटा प्रश्न उभिदिन्छ ।
देशले म आइसकेँ भनेको धेरै भइसक्यो
छातीमा छामी हेर्छु
भावनामा सोची हेर्छु
अहँ, सोचेजस्तो देशको सुगन्ध छैन
भनेजस्तो देशको सुवास छैन
र बेला बेलामा देश आउने बाटो हेरिरहन्छु
र कल्पिन्छु
मेरो देश मजस्तै भएर आउँछ
मेरै सुरमा ताल मिलाउँदै आउँछ
तर खै देश कता छ ?
कि भीरको बाटो छोडेर
आकाशको बाटो भएर आयो ?
कि झुप्रोमा पाउ राख्न असजिलो भएर
महलको बाटो भएर आयोे ।
आउँदा त सबैले देख्नुपर्ने हो
देशको उपस्थिति हँुदा त
सबैतिर हर्षोल्लास हुनुपर्ने हो
कि मैले कुरेको बाटो आएन देश ?
छेउघरको ठूलाबालाई सोधेँ
पल्लो गाउँको हजुरआमालाई सोधेँ
युवालाई सोधेँ
आरनमा सपना कुटिरहेका दाइलाई सोधेँ
बेंसीमा हलो जोतिरहेका हलीलाई सोधेँ
हिमाल पहाड र तराईलाई सोधेँ
के देश यो बाटो आयो त ?
आएर देशले तपार्इंको हाल खबर सोध्यो त ?
तर कतै सन्तुष्टिको आभास देखिएन
र फेरि प्रश्न आउँछ
देशभित्र देश कहाँनेर छ ?
देशभित्र देश कहिले आउँछ ?

यो पनि पढ्नुहोस..  द लभ वि वान्ट’ उपन्यास विमोचित

कोशी, कर्णाली बगिरहेछ
मछवारले दुई–चार किलो माछा मारेको बाहेक
साहसीले दुई–चार डुङ्गा चलाएको बाहेक
बटुवाले एक–दुई अञ्जुली पानी पिएको बाहेक
र अलिअलि उज्यालो बालेको बाहेक
किन कोशी देशलाई गिज्जाइरहेछ
किन अरुण तमोर बैँस देखाइरहेछ
घुमाइदिऊन् टर्बाइनहरू
छेकेर लगाइदिऊन् गराहरूमा
थुनेर हालिदिऊन् तिर्खाएको बालीहरूमा
अनि संसर्ग होस् बाली र पानीहरूको
र जन्मोस् रहरलाग्दा दानाहरू
टिपून् न बैंसालु हातहरूले
किन सुकाउनु व्यर्थै वीर्यहरू
ती ताता बालुवाहरूमा ।
खसून् बरु पसिना
आफ्नै पाखोबारीहरूमा ।

हिमालहरू उभिरहेछन्
सम्पदाहरू हेरिरहेछन्
चियाबगान मुस्कुराइरहेछन्
तालहरू जमिरहेछन्
झरनाहरू हाम फालिरहेछन्
तर किन देश बेखबरझैं लागिरहन्छ
सबैथोक भएर पनि केही नभएझैं
किन हात थापिरहेछ ?
किन भौँतारिन्छन् युवाहरू
आफ्नो सबै प्रिय साथ छोडेर
किन बाँझिए बारीहरू
अनि किन उम्रिरहेछ सिरुहरू मात्र
सपना फुल्ने नागीहरूमा
लगाऊन् सबै पाखुरीहरू
म छु तिमी गर
मात्रै भनिदिऊन् मेरो देश
अनि खुलोस् विकासका ढोकाहरू
देख्न पाइयोस् समृद्धिका फाँटहरू
र झुलून् लहलह आकांक्षाहरू

यो पनि पढ्नुहोस..  मैले बिर्सन नसकेको त्यो दिन !

अनि कहिल्यै सोध्न नपरोस्
देशभित्र देश कहाँ छ भनेर ।

सम्बन्धित् समाचार